बीवाईडी एट्टो २ मा ठूलो अपडेट, ५०१ किमि रेञ्ज र नयाँ फिचरसहित २०२७ मोडल सार्वजनिक

  • मिति : अशोज ४, २०८३
310 Shares

काठमाडौं । बीवाईडीले चीनमा आफ्नो कम्प्याक्ट इलेक्ट्रिक क्रसओभर ‘योआन युपी फिची’ को २०२७ संस्करण सार्वजनिक गरेको छ। यो मोडल अन्तर्राष्ट्रिय बजारमा अधिकांशतः ‘एट्टो २’ नामले बिक्री हुँदै आएको छ। नेपालमा पनि यो एट्टो २ नामबाट परिचित छ।

नयाँ संस्करणमा डिजाइन, इन्टेरियर तथा प्रविधिमा केही परिमार्जन गरिएको छ। कम्पनीका अनुसार यसको सबैभन्दा लामो रेञ्ज दिने संस्करणले चीनको सीएलटीसी परीक्षण चक्रअनुसार ५०१ किलोमिटरसम्मको रेञ्ज प्रदान गर्छ। यसको सुरुवाती आधिकारिक खुद्रा मूल्य ७४,८०० युआन कायम गरिएको छ। योग्य ग्राहकले ट्रेड–इन अनुदानअन्तर्गत ५,००० युआनसम्मको सुविधा पाउनेछन्।

नयाँ योआन युपी फिची पाँच ट्रिममा उपलब्ध छ। ३०१ किमि लिडिङको मूल्य ७४,८०० युआन, ४०१ किमि लिडिङको ८१,८०० युआन, ४०१ किमि भाइटालिटीको ८९,८०० युआन, ५०१ किमि बियन्डको ९४,८०० युआन र ५०१ किमि एक्सिलेन्सको १,०४,८०० युआन तोकिएको छ। शीर्ष भेरियन्टको मूल्य नेपाली रुपैयाँमा करिब २४ लाख २ हजार रुपैयाँ पर्छ।

७० किलोवाटको मोटर सबै भेरियन्टमा

२०२७ फिची संस्करणको सम्पूर्ण लाइनअपमा अगाडि जडान गरिएको ७० किलोवाटको पर्मानेन्ट म्याग्नेट मोटर प्रयोग गरिएको छ। यसले ९४ हर्सपावर शक्ति र १८० न्यूटन मिटर टर्क उत्पादन गर्छ। यसअघिको मोडलमा ७० किलोवाट र १३० किलोवाटका दुई मोटर विकल्प उपलब्ध थिए।

गाडी बीवाईडीको ई–प्लेटफर्म ३.० मा आधारित छ। यसमा सेल–टु–बडी ब्याट्री इन्टिग्रेसन, अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टर्जन बीम सस्पेन्सन प्रयोग गरिएको छ।

५०१ किलोमिटर रेञ्ज दिने संस्करणमा ५१.१३ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री प्रयोग गरिएको छ। यसबाहेक ३०१ र ४०१ किलोमिटर रेञ्जका संस्करणमा क्रमशः ३२ किलोवाट आवर र ४५.१२ किलोवाट आवरका ब्याट्री उपलब्ध छन्। डीसी फास्ट चार्जिङमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्ने बताइएको छ।

इन्टेरियरमा पनि परिमार्जन

एट्टो २ को लम्बाइ ४,३१० मिलिमिटर, चौडाइ १,८३० मिलिमिटर, उचाइ १,६७५ मिलिमिटर र ह्विलबेस २,६२० मिलिमिटर रहेको छ। नयाँ संस्करणमा ‘एनर्जेटिक येलो’ र ‘अक्सिजन ब्लू’ लगायतका नयाँ रङ विकल्प थपिएका छन्।

इन्टेरियरमा सेन्टर कन्सोलमा रहेको गियर सिफ्ट हटाएर स्टेरिङ स्तम्भतर्फ सारिएको छ। यसले ५० वाटको एयर–कूल्ड वायरलेस फोन चार्जरमुनि थप स्टोरेज स्पेस उपलब्ध गराएको छ। पछाडिको सिट ६०:४० अनुपातमा फोल्ड गर्न सकिने र यसबाट सामान राख्ने क्षमता १,३२० लिटरसम्म पुग्ने कम्पनीको विवरण छ।

गाडीमा भेन्टिलेटेड तथा हिटेड फ्रन्ट सिट, इलेक्ट्रिक सनशेडसहितको प्यानोरमिक ग्लास रुफ, रियर एयरभेन्ट, एनएफसी स्मार्टफोन की तथा नयाँ दुई–स्पोक स्टेरिङ ह्विलजस्ता सुविधा छन्।

इन्फोटेनमेन्टका लागि डिलिंक १०० ककपिट प्रयोग गरिएको छ। यसमा १२.८ इन्चको रोटेटिङ सेन्टर टचस्क्रिन, ८.८ इन्चको ड्राइभर डिस्प्ले र चार–क्षेत्रीय भ्वाइस रिकग्निसन सिस्टम उपलब्ध छ।

उच्च ट्रिममा बीवाईडीको डिपाइलट सी सुइटमार्फत हाइवे नेभिगेसन असिस्ट तथा स्वचालित पार्किङ सुविधा उपलब्ध गराइएको छ।

चीनमा बढ्दो बिक्री

चाइना ईभी डेटा ट्र्याकरका अनुसार योआन युपीले २०२६ अगस्टमा चीनमा २२,९५८ युनिट बिक्री गरेको थियो। यो जुलाईको २०,२७५ युनिटको तुलनामा १३.२ प्रतिशत बढी र अघिल्लो वर्षको अगस्टको तुलनामा १६.९ प्रतिशत बढी हो। जुनमा भने यसको बिक्री १७,९४५ युनिट रहेको थियो।

चीनको साना इलेक्ट्रिक क्रसओभर बजारमा जिली ईएक्स२ (ग्यालेक्सी जिंगुआन) लगायतका मोडलसँग प्रतिस्पर्धा गरिरहेको योआन युपीमा नयाँ ५०१ किलोमिटर रेञ्ज र परिमार्जित सुविधासहितको संस्करण थपिएको हो।