काठमाडौं । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ ।
असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा दिने भएको हो । यसअघि उक्त सर्भिस सेन्टरले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मात्र सेवा प्रदान गर्दै आएको थियो ।
सेवा समय विस्तारसँगै दिनभर यात्रु तथा मालवाहक सवारी सञ्चालन गर्ने ग्राहकले साँझको समयमा समेत आफ्नो सवारीको नियमित सर्भिस तथा आवश्यक मर्मत गराउन सक्नेछन् । ग्राहकको व्यस्तता र व्यावसायिक सवारी सञ्चालनको आवश्यकतालाई ध्यानमा राखेर सेवा अवधि बढाइएको जनाइएको छ ।
सर्भिस सेन्टरमा टाटा कमर्सियल भेहिकलका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, टाटा जेन्युइन स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स तथा दक्ष र प्रशिक्षित प्राविधिकमार्फत सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
सिप्रदीका अनुसार अवैध तथा नक्कली पार्ट्स र लुब्रिकेन्ट्सको प्रयोगले सवारीको इन्जिन, ब्रेक तथा क्लच प्रणालीमा क्षति पुर्याउनुका साथै मर्मत खर्चसमेत बढाउन सक्छ । त्यसैले सवारीको सुरक्षा, कार्यक्षमता र दीर्घकालीन सञ्चालनलाई ध्यानमा राख्दै आधिकारिक सर्भिस सेन्टरबाट गुणस्तरीय सेवा उपलब्ध गराउने व्यवस्था गरिएको हो ।
सेवा समय विस्तारबाट व्यावसायिक सवारीधनीले आफ्नो दैनिक सञ्चालन प्रभावित नगरी आवश्यक मर्मत तथा सर्भिस गराउन सक्नेछन् । यसले सवारीको डाउनटाइम घटाउँदै सञ्चालन खर्च नियन्त्रण गर्न र व्यावसायिक प्रयोजनका सवारीको निरन्तर सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सिप्रदीले बिक्रीपछिको सेवालाई थप पहुँचयोग्य र ग्राहकमैत्री बनाउने उद्देश्यअनुसार सेवा विस्तार गरिएको जनाएको छ । नयाँ व्यवस्थाले नियमित मर्मतसम्भारसँगै आकस्मिक रूपमा सवारीमा समस्या देखिँदा समेत ग्राहकलाई थप सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ ।