आमरण अनसन स्थगित गरी वार्तामा आउन गण्डकी सरकारको आग्रह

  • मिति : अशोज ४, २०८३
140 Shares

पोखरा । गण्डकी प्रदेश सरकारले मनास्लु हिमालको आधार शिविरमा आमरण अनसनमा बसेका चुमनुब्री गाउँपालिका–गोरखाका युवालाई अनसन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्र पठाउँदै आमरण अनसन र अनसनकारीले राखेका मागप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सामागाउँका युवाहरूले मनास्लु हिमालको आधार शिविरभन्दा १०० मिटर माथि असोज २ गतेदेखि आमरण अनसन सुरु गरेका छन् ।

प्रदेश सरकारले हिमताल तथा हिमनदीको जोखिम अध्ययन, सम्भावित हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) तथा बाढीबाट सुरक्षा, पूर्वसूचना प्रणाली तथा साइरन जडान, सुरक्षित बस्ती व्यवस्थापन र हिमाली क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणलगायतका माग जनसुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील विषय भएको जनाएको छ ।

यस्ता माग नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित अन्य निकायसँग समन्वय गरी सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको पत्रमा उल्लेख छ । तीन तहका सरकार र नागरिक समाजको सक्रियतामा छलफल तथा वार्तामार्फत माग सम्बोधन गर्नु उपयुक्त हुने भन्दै मुख्यमन्त्रीले तत्काल आमरण अनसन स्थगित गरी प्रदेश सरकारसँग वार्तामा आउन आह्वान गरेको पत्रमा उल्लेख छ ।