नेपालिरिका होटलको छैटौँ बर्षमा प्रवेश, असोजभर विशेष अफर

  • मिति : अशोज ४, २०८३
344 Shares

विराटनगर । नेपालिरिका होटल पब्लिक लिमिटेडले आफ्नो छैटौँ वार्षिकोत्सवका अवसरमा असोज महिनाभर विभिन्न विशेष कार्यक्रम तथा आकर्षक अफर सञ्चालन गर्ने भएको छ।

होटलले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विशेष आवास, खाना तथा पेय पदार्थका प्याकेज सार्वजनिक गर्ने जनाएको छ। होटलका दमक–६, भृकुटी चोक र सुन्दरहरैँचा–९, विराट चोकस्थित दुवै शाखामा वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरिनेछ।

होटलका अनुसार जेन–जी आन्दोलनका क्रममा क्षति पुगेपछि पनि ग्राहक, व्यवसायी, सञ्चारकर्मी, शिक्षक तथा सर्वसाधारणको निरन्तर साथ, सहयोग र विश्वासका कारण होटलले पुनः आफ्नो सेवा सञ्चालन गर्न सफल भएको हो। यही यात्रालाई स्मरण गर्दै छैटौँ वार्षिकोत्सव विशेष रूपमा मनाउन लागिएको होटलले जनाएको छ।

असोजभर ग्राहकले विशेष कोठा प्याकेज, विभिन्न खानाका परिकार, कम्बो प्लेटर तथा आकर्षक पेय पदार्थका प्याकेजको सुविधा पाउनेछन्। त्यस्तै, विभिन्न स्वादका परिकारसहित विशेष बार्बेक्यु सेवा तथा लाइभ फुड स्टेसनसमेत सञ्चालन गर्ने तयारी होटलले गरेको छ।

यी सेवा तथा प्याकेज परिवार, साथीभाइ, सहकर्मी तथा अन्य पाहुनालाई लक्षित गर्दै खानपान, भेटघाट र मनोरञ्जनका लागि तयार गरिएको होटलले जनाएको छ।

होटलका प्रबन्ध निर्देशक आकाश दुलालले छैटौँ वार्षिकोत्सव होटलले छ वर्ष पूरा गरेको अवसर मात्र नभई ग्राहक, कर्मचारी, व्यवसायिक साझेदार तथा शुभेच्छुकसँग निर्माण भएको विश्वास र सम्बन्धको उत्सवसमेत भएको बताए।

उनले भने, “छ वर्षदेखि निरन्तर विश्वास र साथ दिनुहुने सबैप्रति धन्यवाद। यो असोज विशेष स्वाद, विशेष सेवा र विशेष सम्झनासहित वार्षिकोत्सव मनाउन हामीसँग जोडिनुहोस्।”

होटलले कठिन परिस्थितिमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा, स्वादिष्ट खानाका परिकार तथा आत्मीय आतिथ्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।