प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड सम्पन्न

  • मिति : अशोज ४, २०८३
191 Shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरूको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवका गतिविधिसहित सम्पन्न भएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटनपछि सम्बोधन गर्दै प्रसाईंले अभिकर्ता पेशामार्फत उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लिडरहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताए।

उनले यस प्रकारका सम्मानले अभिकर्ता लिडरहरूमा आत्मसम्मान बढाउनुका साथै आगामी दिनमा थप व्यावसायिक सफलता हासिल गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे। अभिकर्ताहरूलाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीका तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

आर्थिक वर्ष २०८२/८३ को सफलताको उत्सव मनाउँदै गर्दा आर्थिक वर्ष २०८३/८४ लाई ‘तयारी जीतको वर्ष’का रूपमा अघि बढाउँदै थप सफलता हासिल गर्न सबै सहभागीलाई प्रसाईंले उत्प्रेरित गरे।

कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ मा हासिल भएको सफलताले आर्थिक वर्ष २०८३/८४ को ‘तयारी जीत’को लक्ष्य हासिल हुनेमा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले अभिकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि थप ऊर्जा र प्रेरणा प्रदान गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका व्यवस्थापक तथा अभिकर्तासहित देशभरबाट करिब २०० जनाको सहभागिता रहेको थियो। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई कर्पोरेट क्लब एचिभर्स अवार्डमार्फत भव्य समारोहबीच सम्मान गरिएको थियो।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रेरणात्मक, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको जनाएको छ।