काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप बलियो र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिएका छन्।
आइतबार बसेको रास्वपा सचिवालय बैठकमा धारणा राख्दै सभापति लामिछानेले तीनवटै निकायबीच अन्योन्याश्रित सम्बन्ध हुने भएकाले समन्वय बढाउन निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए। बैठकमा उनले नेता, सांसद र समर्थकको अनुशासनका विषयमा समेत आवश्यक निर्देशन दिएका थिए।
यसैगरी, बैठकले गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूको विषयमा विद्यमान कानुनी जटिलता फुकाउनुपर्ने निष्कर्ष निकालेको छ।
रास्वपा प्रवक्ता खरेलका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको पुनर्निर्माण र पुनर्स्थापनाको काममा कुनै कमजोरी हुन नदिन पार्टीले ध्यानाकर्षण गराएको छ। त्यस्तै, फेला परेका शवहरूको पहिचानका लागि डीएनए परीक्षण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउनुपर्ने बैठकको माग छ।
अझै पनि ठूलो संख्यामा नागरिक बेपत्ता रहेको र उनीहरूका परिवार अन्योल तथा पीडामा रहेकाले परिवारको सहमतिमा आश मारिसकिएको अवस्थामा राहत तथा कानुनी सहजीकरणका लागि आवश्यक प्रक्रिया सहज बनाउन सरकारसँग आग्रह गर्ने निर्णय बैठकले गरेको छ।