काठमाडौं । नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अर्बिटर (TVS Arbiter) नेपाली बजारमा सार्वजनिक गरेको छ।
बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको अर्बिटरको प्रारम्भिक बिक्री मूल्य रु. २ लाख ८१ हजार ९ सय निर्धारण गरिएको कम्पनीले जनाएको छ।
नयाँ अर्बिटरमा ३.१ किलोवाट-आवर (kWh) क्षमताको ब्याट्रीप्याक जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा आईडीसी (IDC) मापदण्डअनुसार १५८ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ।
स्कुटरमा २.५ पिक किलोवाट क्षमताको बीएलडीसी (BLDC) रियर हब मोटर प्रयोग गरिएको छ, जसको अधिकतम गति ६८ किलोमिटर प्रतिघण्टा रहेको छ। दैनिक शहरी आवागमनलाई लक्षित गरी स्कुटरमा आधुनिक डिजाइनसँगै आवश्यक स्मार्ट फिचरहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ।
टीभीएस अर्बिटर नेपाली बजारमा कम्पनीको दोस्रो इलेक्ट्रिक दुईपाङ्ग्रे मोडल हो। यसअघि टीभीएसले आईक्युब (iQube) इलेक्ट्रिक स्कुटर नेपाली बजारमा बिक्री गर्दै आएको छ। अर्बिटर सार्वजनिक भएसँगै कम्पनीले नेपालमा आफ्नो विद्युतीय सवारी पोर्टफोलियोलाई थप विस्तार गरेको छ।
जगदम्बा मोटर्सका अनुसार नयाँ अर्बिटरले आकर्षक डिजाइन, लामो रेन्ज र प्रतिस्पर्धी मूल्यका कारण नेपाली उपभोक्तामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।