रौतहट । भारत–नेपाल सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी सम्हालिरहेको सशस्त्र प्रहरी बल फेरि विवादमा तानिएको छ। बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक गणेश बोहराले कथित तस्करसँग संवाद गरेको भनिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको सत्यतथ्यबारे निष्पक्ष छानबिन गर्न स्थानीयवासी तथा व्यापारीहरूले माग गरेका छन्।
सामाजिक सञ्जालमा भाइरल बनेको उक्त अडियोमा तस्करीका लागि बाटो सुझाइरहेको जस्तो आवाज सुनिएको दाबी गरिएको छ। तर अडियोको आधिकारिक पुष्टि भने भइसकेको छैन। त्यसैले सम्बन्धित निकायले अडियोको प्रामाणिकता परीक्षण गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग बढ्दै गएको छ।
स्थानीय व्यापारीहरूका अनुसार दैनिक उपभोगका लागि ल्याइने साना सामानमा सशस्त्र प्रहरीले कडाइ गर्ने गरेको भए पनि संगठित तस्करीमा संलग्न समूहहरू भने निर्बाध रूपमा सक्रिय रहेको आरोप छ। उनीहरूका अनुसार सरमुजवा, खापलगायत सीमावर्ती नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक, हार्डवेयर तथा कवाडजस्ता सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम रोकिएको छैन।
व्यापारीहरूले प्रस्तावित भन्सार गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर बिष्टको कार्यकालमा पनि तस्करी नियन्त्रण अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्। जिल्ला भन्सार कार्यालय गौरको तथ्यांकले पनि फरक चित्र देखाउँछ। आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरीले करिब ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार बुझाएको थियो। सोही अवधिमा नेपाल प्रहरीले भने ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको तथ्यांक सार्वजनिक भएको छ।
रौतहटमा तस्करी नियन्त्रणका लागि नम्बर ११ हेक्वा, प्रस्तावित भन्सार गुल्म गौर, ४ वटा बोर्डर आउट पोस्ट (बीओपी) र ८ वटा सीमा सुरक्षा पोस्ट सञ्चालनमा छन्। यति ठूलो सुरक्षा संयन्त्र हुँदाहुँदै पनि राजस्व चुहावट र संगठित तस्करी नियन्त्रणमा अपेक्षित सफलता हासिल हुन नसकेको भन्दै स्थानीयले सुरक्षा संयन्त्रको कार्यसम्पादनमाथि निष्पक्ष मूल्याङ्कन गर्न र दोषी प्रमाणित हुने जोसुकैमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। यस विषयमा सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले सार्वजनिक भएको अडियोबारे जानकारी संकलन भइरहेको र बुझिसकेपछि आवश्यक प्रतिक्रिया दिने बताएका छन्।