काठमाडौँ : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिष्ट’ बाट चाँडै बाहिर निस्कने उनको विश्वास छ ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई आज सम्बोधन गर्दै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढङ्गले हेर्नुपर्नेमा जोड दिए ।
अर्थमन्त्री वाग्लेले कर प्रशासकहरूको वृत्तिविकास एवं उनीहरूको काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगका आधारमा प्राथमिकताका साथ हेरिने बताए । उनले कर सङ्कलनका लागि जबर्जस्ती र त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करदाताहरूलाई करको दायरामा समेट्नुपर्नेमा जोड दिए ।
कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिजस्ता जुनसुकै कुराको अभाव भए निर्धक्क भएर भन्न पनि उनले आग्रह गरे । कर प्रशासनमा काम गर्ने र राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गरिने उनले स्पष्ट पारे ।
यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेलको रूपमा बुझ्न आग्रह गर्दै उनले आगामी चार आर्थिक वर्षको बजेटमार्फत सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताए ।
बजेटमा दिइएको छुटका योजना कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबैखाले पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए ।