म्याक्ससको ई-टेरोन ९ कम्फर्ट नेपालमा, ८८ लाखमा ५६० किमि रेन्जको इलेक्ट्रिक पिकअप

  • मिति : साउन ७, २०८३
514 Shares

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालयन मोटर्सले चिनियाँ अटोमोबाइल कम्पनी एसएआईसीको प्रिमियम ब्रान्ड म्याक्सस अन्तर्गतको नयाँ इलेक्ट्रिक पिकअप ई-टेरोन ९ कम्फर्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले संयुक्त रूपमा गाडीको अनावरण गरे। कम्पनीले ग्राहकको मागलाई मध्यनजर गर्दै प्रिमियम भेरियन्टभन्दा किफायती मूल्यमा नयाँ कम्फर्ट मोडेल ल्याएको जनाएको छ।

ई-टेरोन ९ कम्फर्टमा १०२.२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा एनईडीसी मापदण्डअनुसार ५६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। फोर-ह्वील ड्राइभ प्रणालीसहितको यस पिकअपमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका मोटर गरी कुल ३२५ किलोवाटको पावर आउटपुट र ७०० न्युटन मिटर टर्क उपलब्ध छ। ११५ किलोवाट डीसी फास्ट चार्जरमार्फत ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ४२ मिनेटमै चार्ज गर्न सकिन्छ।

सुरक्षा र प्रविधिका हिसाबले पनि ई-टेरोन ९ कम्फर्ट निकै आकर्षक रहेको कम्पनीको दाबी छ। यसमा ३६० डिग्री क्यामेरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वार्ड कोलिजन वार्निङ, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट असिस्ट, रियर क्रस ट्राफिक अलर्ट, ईएसपी, ईबीए, ७ वटा एयरब्याग तथा अटो होल्डलगायतका सुरक्षा सुविधा समावेश छन्। साथै हिटेड तथा भेन्टिलेटेड सिट, हिटेड स्टेरिङ ह्वील, अटोमेटिक एयर कन्डिसन, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट र अटोमेटिक हेडलाइटजस्ता प्रिमियम फिचर पनि उपलब्ध छन्।

नेपाली सडक र अफ–रोड यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको यस पिकअपमा २५५ एमएम ग्राउन्ड क्लियरेन्स र ४५५ एमएम वाटर वेडिङ क्षमता रहेको छ। युरो एनक्याप क्र्यास टेस्टमा यसले ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।

कम्पनीले ई-टेरोन ९ कम्फर्टको सुरुवाती मूल्य ८८ लाख  रुपैयाँ निर्धारण गरेको छ। गाडी खरिद गर्ने ग्राहकले एक वर्षको बीमा, एक वर्षको सडक दस्तुर तथा दुई वर्षको निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन्।

कार्यक्रममा बोल्दै हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले नेपालमा ईभीलाई सहर केन्द्रित सवारीका रूपमा हेर्ने धारणा अब परिवर्तन हुने विश्वास व्यक्त गर्दै म्याक्सस ई-टेरोन ९ ले शक्ति, विलासिता र अफ–रोड क्षमताको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने बताए। साथै कम्पनीले निकट भविष्यमै म्याक्सस ब्रान्डका इलेक्ट्रिक माइक्रोबस पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।