काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरुद्ध लोकतन्त्र चाहने शक्तिबिचको सहकार्य अनिवार्य भएको बताएका छन् । साथै ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूकै काँधमा रहेको बताएका छन् ।
‘यिनै पार्टीहरूले लोकतन्त्र फिर्ता ल्याउनुपर्छ, संविधान बचाउनुपर्छ र संविधान संशोधन गर्नुपर्छ’, ओलीले भने, ‘यिनैको अगुवाइमा लोकतन्त्रका आधारभूत प्रश्नको रक्षा गर्दै अघि बढ्नुपर्छ ।’
अध्यक्ष ओलीले सडक र सदन दुवै मोर्चाबाट यसका लागि काम गर्नुपर्ने भन्दै लोकतन्त्र अपहरण गर्ने विरुद्ध लोकतन्त्र चाहने शक्तिहरू मिल्नुको विकल्प नभएको बताए । नेपाली जनतालाई एकजुट बनाउने पनि यिनै राजनीतिक दलहरूको भएको भन्दै अध्यक्ष ओलीले सामाजिक सञ्जाल दुरुपयोग गरेर असामाजिक बनाउने र राजनीतिक दल र नेतामाथि छाडा गाली गर्ने काम भइरहेको बताए ।
‘आज हरेक दलहरू, खासगरी लोकतान्त्रिक दलहरू एक हुन जरुरी छ’, ओलीले भने, ‘नेकपा एमाले एकतावद्ध छ अरू दलहरू पनि एकताबद्ध हुन जरुरी छ ।’
उनले कांग्रेसमा चलिरहेको किचलो जायज नभएको भन्दै लोकतन्त्रका लड्ने शक्ति मिलोस् भन्दै सहकार्यका लागि जुट्न आग्रह गरे । फरक प्रसंगमा अध्यक्ष ओलीले प्रदेश सरकारहरूमा अलिकति अन्योलजस्तो देखिएको भन्दै छिट्टै अन्यौलता हट्ने बताए । उनले सङ्घीय सरकारका कामकारवाही प्रति कटाक्ष गर्दै उनले मानिसहरू सडकमा बोल्न र हिँड्न समेत नदिएर पञ्चायत भन्दा पनि निरङ्कुशता देखाएको बताए ।