विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड रुपैयाँ

  • मिति : साउन ७, २०८३
497 Shares

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट अहिलेसम्मकै उच्च आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत र बङ्गलादेशमा विद्युत् निर्यातबाट एक वर्षमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ६८ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा नेपालले कुल ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेको छ । अघिल्लो वर्षको तुलनामा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ ।

भारतको इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)अन्तर्गतका विभिन्न बजार तथा बङ्गलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत प्रतियुनिट ७ रुपैयाँ ५६ पैसामा विद्युत् बिक्री गरिएको थियो ।

निर्यात बढेसँगै विद्युत् आयातमा भने उल्लेख्य कमी आएको छ । आर्थिक वर्षभर १ अर्ब १४ करोड ९८ लाख युनिट मात्रै विद्युत् आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.५७ प्रतिशत कम हो । आयातमा भएको खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ ।

विद्युत् निर्यातबाट प्राप्त आम्दानीबाट आयात खर्च कटाउँदा नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँको तुलनामा यो बचत ३१३ प्रतिशतले बढेको हो ।

प्राधिकरणले उत्पादन वृद्धि, अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार र क्षेत्रीय विद्युत् बजारमा पहुँच विस्तारका कारण यस्तो उपलब्धि हासिल भएको जनाएको छ ।