नेपाल फिनटेक एक्स्पो २०२६ असोज २३ देखि, ६५ भन्दा बढी स्टल रहने

  • मिति : अशोज २१, २०८३
225 Shares

काठमाडौं । फिनटेक एलायन्स नेपालको आयोजनामा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आगामी असोज २३ गते शुक्रबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने भएको छ।

लुपको प्रस्तुति तथा एभरेस्टक्लाउडको सहयोगमा आयोजना हुने एक्स्पो असोज २५ गते आइतबारसम्म तीन दिन सञ्चालन हुनेछ। एक्स्पोको औपचारिक उद्घाटन शुक्रबार बिहान १० बजे नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर किरण पण्डितले गर्ने आयोजकले जनाएको छ।

फिनटेक एलायन्स नेपालका अध्यक्ष अमित अग्रवालले साना तथा लघु कर्जा प्रवाहमा बैंकहरूको सञ्चालन खर्च उच्च हुने भएकाले फिनटेक कम्पनीमार्फत यस्ता कर्जा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनका अनुसार बैंकहरूले ५ लाख, १० लाखदेखि २० लाख रुपैयाँसम्मका कर्जा प्रवाह गर्दा जनशक्ति तथा व्यवस्थापकीय खर्चका कारण लागत व्यवस्थापन गर्न कठिन हुने गरेको छ। १ करोड रुपैयाँभन्दा कमका कर्जा स्वीकृत गर्दा समेत बैंकका लागि ‘ब्रेक इभन’ हासिल गर्न चुनौती हुने भएकाले बैंक तथा फिनटेक कम्पनीबीच सहकार्य आवश्यक रहेको उनले बताए।

“फिनटेक कम्पनीहरूले प्रविधिको माध्यमबाट बैंकका लागि ‘इनेबलर’ को भूमिका निर्वाह गर्दै नेपालको कर्जा परिदृश्यमा परिवर्तन ल्याउन सक्छन्,” अग्रवालले भने।

उनले नेपालमा हाल वित्तीय सेवाका लागि हायर पर्चेजको व्यवस्था रहे पनि शिक्षा, स्वास्थ्य तथा उपभोक्ता सामग्रीका लागि विशेष प्रकृतिका गैर-बैंकिङ वित्तीय संस्थाका लागि नयाँ लाइसेन्स आवश्यक रहेको बताए। नेपालको वित्तीय क्षेत्र यस्तो रूपान्तरणको चरणमा रहेको उनको भनाइ छ।

‘डेबिट’ बाट ‘क्रेडिट’ अर्थतन्त्रतर्फ जानुपर्ने

एक्स्पोका टाइटल स्पोन्सर लुपका प्रमुख कार्यकारी अधिकृत तथा फिनटेक एलायन्स नेपालका निवर्तमान अध्यक्ष साजन शर्माले नेपालको फिनटेक क्षेत्र अब ‘डेबिट’ आधारित कारोबारबाट ‘क्रेडिट’ आधारित अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने बताए।

नेपालले पछिल्लो एक दशकमा डिजिटल वालेट, अनलाइन बैंकिङ तथा डिजिटल भुक्तानीमा उल्लेखनीय प्रगति गरे पनि आर्थिक वृद्धिका लागि सहज र पहुँचयोग्य क्रेडिट नेटवर्क विकास गर्नुपर्ने उनले बताए।

फिनटेक उद्योगले हालसम्म मुख्यतः भुक्तानी क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै शर्माले अब बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर उपभोक्ता तथा व्यापारीका लागि सहज कर्जा उपलब्ध गराउने डिजिटल सञ्जाल विकास गर्नुपर्ने बताए।

“महिनाको ७० हजार रुपैयाँ कमाउने पठाओ राइडरले सहज रूपमा २ लाख रुपैयाँ ऋण पाएर नयाँ स्कुटर किन्न सक्ने र महिनाको ५० हजार रुपैयाँ कमाउने प्राथमिक विद्यालयका शिक्षकले १ लाख रुपैयाँको आफूले चाहेको ल्यापटप किन्न सक्ने गरी लघु कर्जा सहज बनाउनु हाम्रो मुख्य उद्देश्य हो,” उनले भने।

६५ भन्दा बढी स्टल, ६ हजारभन्दा बढी आगन्तुकको अपेक्षा

यस वर्षको एक्स्पोलाई विगतभन्दा परिमार्जन गर्दै तीन दिन सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी स्टल रहनेछन्।

स्वदेशी तथा विदेशी प्रदर्शकले डिजिटल भुक्तानी, डिजिटल बैंकिङ, कर्जा प्रविधि, कोर बैंकिङ सफ्टवेयर, डेटा एनालिटिक्स, एआईमा आधारित पहिचान प्रमाणीकरण, डिजिटल अनबोर्डिङ तथा साइबर सुरक्षालगायत प्रविधि प्रदर्शन गर्नेछन्।

आयोजकका अनुसार तीन दिनमा ६ हजारभन्दा बढी आगन्तुकले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ। नयाँ, महिला तथा युवा नेतृत्वका फिनटेक उद्यमलाई लक्षित गर्दै विशेष स्टार्टअप प्याभिलियनसमेत निर्माण गरिएको छ। उपभोक्तालाई सुरक्षित डिजिटल भुक्तानीको प्रत्यक्ष अभ्यास गराउन ‘एक्सपेरियन्स जोन’ पनि रहनेछ।

पहिलो दिन ‘बैंकार्स डे’, दोस्रो दिन ‘डायस्पोरा डे’

एक्स्पोको पहिलो दिनलाई ‘बैंकार्स डे’ का रूपमा मनाइनेछ। सो दिन बैंकिङ क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरी नीतिगत छलफल तथा फिनटेक सोसल कार्यक्रम आयोजना गरिनेछ।

थर्ड फ्याक्टर एआई, डिलाइटिका एआई, इन्फोडिभलपर्स, दियो एआई, एमबैंक टेक्नोलोजीज, स्प्यारो एसएमएस र हिमाल टेकले आफ्ना प्रविधि तथा उत्पादन प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

दोस्रो दिन ‘डायस्पोरा डे’ का रूपमा सञ्चालन हुनेछ। उक्त दिन रिसेक्युरिटी, भवानी इन्फोटेक र बारकोड नेपालको प्रस्तुति रहनेछ। साँझ क्लासिक भेन्युमा नीतिगत छलफल तथा प्रिमियम लाउन्जमा नेटवर्किङ डिनर आयोजना गरिनेछ।

तेस्रो दिन सिन्याप्स टेक्नोलोजीजको प्रस्तुतिसँगै एक्स्पो समापन हुनेछ। असोज २५ गते घटस्थापनाको दिन परेकाले आयोजकले सहभागी तथा आगन्तुकलाई बडादशैंको शुभकामना दिँदै विभिन्न प्रदर्शकले दशैं लक्षित अफर तथा नयाँ डिजिटल उत्पादन सार्वजनिक गर्ने जनाएको छ।

डिजिटल प्रयोग बढ्दै गएपछि एक्स्पोको महत्व

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार नेपालमा डिजिटल वालेट प्रयोगकर्ता २ करोड ८३ लाख तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोडभन्दा बढी पुगेका छन्। बढ्दो डिजिटल वित्तीय कारोबारसँगै डिजिटल साक्षरता, सुरक्षित भुक्तानी र नवीनतम वित्तीय प्रविधिबारे जनचेतना बढाउन एक्स्पो महत्वपूर्ण हुने आयोजकको विश्वास छ।

एक्स्पोमा प्रवेशका लागि सर्वसाधारणलाई २०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ। अग्रिम टिकट खल्ती डिजिटल वालेटमार्फत बुक गर्न सकिने आयोजकले जनाएको छ।