दुर्गा प्रसाईंले तीनकुने हिंसा भड्काएको आयोगको निष्कर्ष

  • मिति : अशोज २१, २०८३
514 Shares

काठमाडौं । २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुर्गा प्रसाईंको भूमिका मुख्य रहेको राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष निकालेको छ। शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति लिएको भए पनि प्रसाईंले भीडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएको र सुरक्षा घेरा तोड्न नेतृत्व गरेको आयोगको ठहर छ।

आयोगले २०८३ भदौ २६ गते गरेको निर्णयमा प्रसाईंले प्रदर्शनका क्रममा ‘संसद् भवन जलाउनुपर्छ’ लगायतका अभिव्यक्ति दिएपछि भीड अनियन्त्रित हुँदै हिंसातर्फ गएको उल्लेख गरेको हो।

त्यसपछि प्रदर्शनकारीले सुरक्षाकर्मीले लगाएको ब्यारिकेड हटाउँदै विभिन्न निजी तथा सार्वजनिक संरचना, सवारीसाधन र सञ्चारगृहमा तोडफोड तथा आगजनी गरेका थिए। जडीबुटीस्थित सञ्चो कम्पनी, कोटेश्वरको भाटभटेनी, सहकारी तथा विभिन्न राजनीतिक दलका कार्यालयमा समेत क्षति पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ।

हिंसाका क्रममा दमकललाई समेत घटनास्थलमा पुग्न अवरोध गरिएको थियो। घटनाको अनुगमन गर्न पुगेको आयोगको टोलीमाथि समेत आक्रमण भएको जनाइएको छ। आगजनी गरिएको घरभित्र परेर एभिन्यूज टेलिभिजनका क्यामेराम्यान सुरेश रजकको मृत्यु भएको थियो।

आयोगले घटनामा सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत लक्षित भएको जनाएको छ। प्रदर्शनअघि, प्रदर्शनका क्रममा र त्यसपछि समेत प्रसाईंका अभिव्यक्तिले हिंसा भड्काउन भूमिका खेलेको भन्दै आयोगले उनको भूमिकामाथि थप सूक्ष्म अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको छ।

त्यसैगरी, प्रसाईंलाई समयमै नियन्त्रणमा लिएर हिरासतमा नराख्नु सुरक्षा निकायको कमजोरी भएको आयोगले औंल्याएको छ। घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको जिम्मेवारी आयोजक तथा नेतृत्वकर्ताका रूपमा प्रसाईंले लिनुपर्ने निष्कर्षसमेत आयोगले निकालेको छ।