नेपालगञ्ज : दसैँ, तिहार नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेश फर्किन थालेका छन्। भारतका नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला, कुल्लुलगायत विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली परिवार तथा आफन्तसँग चाडपर्व मनाउन नेपाल फर्किन थालेपछि नेपालगञ्जस्थित जमुनाहा नाकामा यात्रुको चाप बढेको छ।
दसैँ, तिहार नेपालीका प्रमुख चाडपर्व भएकाले वर्षभरि रोजगारीका लागि घरदेखि टाढा रहेका नेपाली चाडपर्वका अवसरमा स्वदेश फर्किने गरेका छन्। पछिल्लो समय जमुनाहा नाकाबाट भारततर्फ जानेभन्दा नेपाल फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ।
दैलेखको डुङ्गेश्वरका ५७ वर्षीय हेमन्त थापा पनि झन्डै पाँच वर्षपछि दसैँ, तिहार मनाउन घर फर्किएका छन्। भारतको सिम्लामा स्याउ टिप्ने काम गर्दै आएका थापा परिवारको खर्च धान्न कठिन भएपछि पाँच वर्षअघि छिमेकीसँगै रोजगारीका लागि भारत गएका थिए। लामो समय भारतमा बसेर काम गरेपछि चाडपर्वका बेला परिवारसँगै बस्ने इच्छा पूरा गर्न उनी नेपाल फर्किएका हुन्।
नेपालमा गरेको आम्दानीले घरखर्च चलाउन धौ–धौ भएपछि रोजगारीका लागि भारत गएको उनले बताए। गाउँघरमा पर्याप्त रोजगारीको अवसर नहुँदा भारतका विभिन्न ठाउँमा पुगेर काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
पाँच वर्षपछि स्वदेश फर्कंदा जमुनाहा नाकामा देखिएको परिवर्तनले भने उनलाई फरक अनुभूति भएको छ। भारत जाने बेलाको भन्दा अहिले सीमा नाकामा हुने जाँच प्रक्रिया व्यवस्थित र प्रणालीगत भएको उनले बताए।
‘पाँच वर्षअघि भारत जाँदा सीमा नाकामा चेकजाँच गर्ने तरिका निकै अव्यवस्थितजस्तो थियो। अहिले त चेकजाँच गर्ने प्रक्रिया नै धेरै फरक रहेछ। सबै कुरा प्रणालीअनुसार व्यवस्थित रूपमा गरिँदो रहेछ’, उनले भने।
भारतमा रोजगारी गरेर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आएका हेमन्तजस्तै जाजरकोटको नलगाड नगरपालिका–४ की गङ्गाधरा केसी पनि चाडपर्व मनाउन बुधबार जमुनाहा नाका हुँदै घर फर्किएकी छन्। उनीसँगै एक छोरी र दुई छोरा पनि नेपाल फर्किएका छन्। स–साना छोराछोरीलाई साथमा लिएर उहाँ झन्डै आठ वर्षअघि रोजगारीको खोजीमा भारतको कुल्लु पुगेका थिए।
भारत जानुअघि गङ्गाधरा कामको खोजीमा जाजरकोटबाट नेपालगञ्ज आएकी थिइन्। नेपालगञ्जमा केही वर्ष घर निर्माणस्थलमा गिट्टी तथा बालुवा बोक्ने काम गरिन्। तर, कामअनुसार आम्दानी नहुने र पारिश्रमिकसमेत समयमा नपाउने भएपछि उgलाई परिवारको खर्च धान्न कठिन भयो। त्यसपछि करिब १० महिना ठेलामा चटपटे बेच्ने कामसमेत गरिन्। तर, त्यसबाट पनि अपेक्षाअनुसार आम्दानी हुन नसकेपछि अन्ततः छोराछोरीसहित भारतको कुल्लु पुगेर काम गर्न थालेकी हुन्।
‘नेपालमै काम गरेर छोराछोरी पाल्ने धेरै प्रयास गरेँ। गिट्टी–बालुवा बोक्ने काम गरेँ, ठेलामा चटपटेसमेत बेचेँ। तर दुःख धेरै र आम्दानी कम भयो। काम गरेको पैसा पनि समयमा नपाउँदा घरखर्च धान्न गाह्रो भयो’, उनले भनिन्।
भारतमा समेत लामो समय सङ्घर्ष गरेर छोराछोरी हुर्काउँदै आएकी गङ्गाधरा यसपटक दसैँ मनाउन घर फर्किन पाउँदा खुसी छिन्। चाडपर्वका बेला आफ्ना छोराछोरीलाई आफन्त तथा गाउँघरको वातावरणमा राखेर दसैँ मनाउन पाउनु महत्वपूर्ण भएको उनको भनाइ छ। भारतबाट नेपाल फर्किंदै गर्दा जमुनाहा नाकामा भएको चेकजाँचले पनि उनलाई सहज महसुस गराएको छ। विगतको तुलनामा सीमा नाकाको व्यवस्थापन र जाँच प्रक्रियामा सुधार आएको उनले बताइन्।
यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–७, जमुनीका गोपाल थापा पनि नजिकिँदै गरेको दसैँ, तिहार मनाउन भारतको हिमाचल प्रदेशबाट घर फर्किएका छन्। विगत १८ वर्षदेखि भारतमा काम गर्दै आएका थापा चाडपर्वका बेला नेपाल आउने गर्छन्। लामो समयदेखि भारतमा रोजगारी गर्दै आए पनि दसैँ, तिहार भने परिवारसँगै मनाउने गरेको उनले बताए। रोजगारीका कारण वर्षभरि घरपरिवारबाट टाढा रहनुपर्ने भएकाले चाडपर्वलाई परिवारसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरेको उनको भनाइ छ।
यसपटक भने जमुनाहा नाकामा जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा सञ्चालन गरिएको यात्रु सहायता कक्षले आफूहरूको यात्रा थप सहज बनाएको उनले बताए।
‘यसपटक सीमा नाकामा यात्रु सहायता कक्ष राखिएको रहेछ। कहाँ जाने, कसरी जाने र समस्या परेमा कहाँ सम्पर्क गर्ने भन्ने जानकारी लिन सजिलो भयो। यात्रुलाई सहज बनाउन यस्तो व्यवस्था हुनु निकै राम्रो लागेको छ’, उनले भने।
चाडपर्वका बेला भारतबाट ठूलो सङ्ख्यामा नेपाली स्वदेश फर्किने भएकाले यात्रुको आवागमन व्यवस्थित गर्न यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। भारतबाट आउने नेपालीलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या दिनहुँ बढिरहेको छ। अहिले जमुनाहा नाकाबाट दैनिक पाँच हजारभन्दा बढी नेपाली स्वदेश फर्किरहेका छन्।
‘बिहानदेखि साँझसम्मै दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को लागिरहेको छ। प्रत्येक दिन पाँच हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गरेका छन्’, उनले भने।
उनका अनुसार भारतको नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेशलगायत विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली अहिले दसैँ, तिहार मनाउन स्वदेश फर्किरहेका छन्। चाडपर्व नजिकिँदै जाँदा नेपाल फर्किने नेपालीको सङ्ख्या अझ बढ्ने उहाँको भनाइ छ। भारतका विभिन्न सहरमा रोजगारीका लागि जाने नेपालीको ठूलो हिस्सा पश्चिम नेपालका पहाडी तथा तराईका जिल्लाबाट हुने गरेको छ।
भारतबाट ठूलो सङ्ख्यामा नेपाली फर्किन थालेसँगै जमुनाहा तथा रुपैडिया क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाइएको छ। भारतबाट फर्किने नेपालीलाई सीमावर्ती क्षेत्रमा ठगी, लुटपाट तथा अलपत्र पर्ने समस्या हुन नदिन नेपाल प्रहरीले निगरानी र समन्वय बढाएको प्रहरी निरीक्षक भट्टराईले बताए। विशेषगरी रिक्सा चालक, ई–रिक्सा चालक, बस तथा होटल व्यवसायीबाट यात्रु ठगिन सक्ने भएकाले त्यस्ता गतिविधिमाथि निगरानी भइरहेको उनले जानकारी दिए।
भारतको रुपैडियामा रातिको समयमा आइपुग्ने नेपालीलाई असहजता नहोस् भनेर भारतीय प्रहरीसँग समेत समन्वय गरिएको जमुनाहा प्रहरीले जनाएको छ। रातिको समयमा सीमा क्षेत्रमा आइपुग्ने यात्रु सुरक्षित रूपमा नेपाल प्रवेश गर्न सकून् भन्ने उद्देश्यले भारतीय प्रहरीसँग आवश्यक समन्वय गरिएको उनले बताए।
चाडपर्वमा भारतबाट ठूलो सङ्ख्यामा नेपाली स्वदेश फर्किने भएकाले सीमादेखि गन्तव्यसम्म यात्रुको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायले विशेष योजना लागू गरेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा यात्रु सहायता कक्ष सञ्चालन गर्नुका साथै सीमा क्षेत्रमा प्रहरीको उपस्थितिसमेत बढाइएको छ। यात्रुको भीड व्यवस्थापन, सूचना प्रवाह तथा समस्या परेका यात्रुलाई तत्काल सहयोग गर्ने गरी सुरक्षा संयन्त्र परिचालन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तामाङले चाडपर्वको समयमा सीमाबाट नेपाल प्रवेश गर्ने यात्रुको सुरक्षालाई प्राथमिकतामा राखिएको बताएका छन्। ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’, उनले भने। भारतबाट फर्किने नेपालीको ठूलो सङ्ख्यालाई ध्यानमा राखेर सीमा क्षेत्रमा हुने सम्भावित ठगी, लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको प्रशासनले जनाएको छ।
यसैबीच, भारतको सिम्लाबाट सुर्खेतको रामघाट फर्किनुभएका रमेश विकले गत वर्ष दसैँका बेला भएको जेनजी आन्दोलनका कारण घर फर्किन नसकेको बताए। यसपटक भने आफन्त र साथीभाइसँग दसैँ मनाउने इच्छा भएकाले समयमै घर फर्किएको उनले बताए।
‘गत वर्षको परिस्थितिका कारण दसैँमा घर आउन सकिएन। यसपटक भने समयमै घर फर्किएर आफन्त र साथीभाइसँग दसैँ मनाउने इच्छा छ’, उनले भने।
दैलेखका महेश थापाले पनि दसैँ, तिहारजस्ता चाडपर्व आफ्नै गाउँठाउँमा परिवार तथा आफन्तसँग मनाउँदा छुट्टै आनन्द हुने भएकाले भारतबाट घर फर्किएको बताए। भारतमा रोजगारी गरेर परिवारको खर्च धान्ने अधिकांश नेपालीका लागि चाडपर्व घर फर्किने प्रमुख अवसर बनेको छ।
वर्षभरि परदेशमा काम गरेर कमाएको आम्दानीले परिवारको खर्च धान्ने उनीहरू दसैँ, तिहारमा भने परिवारसँगै बसेर सुखदुःख साट्न चाहन्छन्। जमुनाहा नाकामा भेटिएका यात्रुहरूका अनुहारमा लामो समयपछि घर फर्किन पाएको खुसी देखिन्थ्यो। कसैका हातमा झोला र कपडाका पोका थिए भने कसैले बालबालिका तथा परिवारका सदस्यलाई साथमा लिएर सीमा पार गरिरहेका थिए।
चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेसँगै जमुनाहा नाकामा यात्रुको चापसमेत बढेको छ। भारतबाट फर्किने यात्रुको चापलाई व्यवस्थित गर्न नेपाल प्रहरी, प्रशासन तथा अन्य सरोकारवाला निकायले समन्वय गरिरहेका छन्। भारतमा रोजगारीका लागि गएका नेपालीका लागि दसैँ, तिहार केवल चाडपर्व मात्र होइन, वर्षौँदेखि टाढा रहेका परिवारका सदस्यसँग भेट हुने अवसर पनि हो।
हेमन्त थापाजस्ता पाँच वर्षपछि घर फर्किएका हुन् वा गङ्गाधरा केसीजस्ता छोराछोरीको भविष्यका लागि वर्षौँ परदेशमा सङ्घर्ष गरेका हुन्, सबैका लागि दसैँले घर र परिवारको सम्झना बोकेर ल्याएको छ।
दसैँ, तिहार नजिकिँदै गर्दा जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक यात्रुको गन्तव्य एउटै छ। आफ्नो घर, आफ्ना मान्छे र परिवारसँग बसेर चाडपर्व मनाउने चाहना। सीमा नाकामा यात्रुको चाप बढ्दै गए पनि प्रहरीले सीमावर्ती क्षेत्रदेखि नेपाल प्रवेश गरेपछि गन्तव्यसम्म पुग्ने यात्रुको सुरक्षालाई ध्यानमा राखेर निगरानी र समन्वयलाई निरन्तरता दिएको जनाएको छ।