घुससहित पक्राउ परेका सर्भेक्षकविरुद्ध अख्तियारले चलायो मुद्दा

  • मिति : अशोज २१, २०८३
446 Shares

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको नापी कार्यालय बर्दिबासमा कार्यरत सर्भेक्षक शिव कुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जग्गाको नक्सा संशोधन गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा उनीविरुद्ध बुधबार अख्तियारले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

सर्भेक्षक साहले जग्गाको अंशबण्डा मुताबिकको नक्सा ट्रायल चेक गरी सोही आधारमा नक्सा संशोधन गरिदिने काममा आलटाल गर्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएर घुस माग गरेको अख्तियारले जनाएको छ ।

सेवाग्राहीबाट प्राप्त सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।

आयोगले सर्भेक्षक साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो एक लाख रुपैयाँ कायम गरेको छ।

साथै सोही ऐनबमोजिम बिगो अनुसारको जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।