हुम्ला र कालीकोटबाट दुई सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • मिति : बैशाख ६, २०८३
1.6K Shares

सुर्खेत : हुम्ला र कालीकोटबाट दुई जना सुत्केरी महिलाको हवाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा ल्याइएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीलाई घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि अवस्था जटिल बनेको थियो ।

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार सुर्खेत ल्याइएको हुम्लाका निमित्र् प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले जानकारी दिए ।

त्यस्तै, कालिकोटको पलाँता गाउँपालिका थिर्पूकी २२ वर्षीया अप्सरा शाहीलाई पनि जटिल अवस्थाका कारण हवाई उद्धार गरिएको हो । शनिबार साँझ सुत्केरी व्यथा लागेपछि उनलाई जिल्ला अस्पताल मान्म र्पुयाइएको थियो । तर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल कालिकोटका डा. शुभ नारायण ठाकुरले बताए ।

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार अप्सरा शाहीको गर्भमै रहेको शिशुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । अत्यधिक रक्तस्रावका कारण उनको अवस्था जटिल बनेपछि आइसियु सेवा आवश्यक ठहर गर्दै सुर्खेत पठाइएको हो ।

दुवै सुत्केरी महिलाको उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गरिएको हो ।