अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु : ज्ञानेन्द्र शाही
-
नयाँ सवाल
- मिति : साउन २५, २०८३
327
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मुख्य सचेतक ज्ञानेन्द्र शाहीले वर्तमान सरकार ढाल्ने कुनै खेलमा प्रतिपक्ष नरहेको बताएका छन् । उनले आगामी पाँच वर्ष प्रतिपक्ष सरकार ढाल्ने खेलमा नलाग्ने स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै शाहीले राप्रपासँग सरकार गठन वा विघटन गर्न सक्ने ‘मेजोरिटी’ नरहेको भन्दै सरकार ढल्ने अवस्था आए सत्तापक्षकै कारण ढल्ने बताए ।
‘हाम्रो मेजोरिटी पनि छैन, हामी त्यो खेलमा छैनौँ । सरकार कसैले ढाल्छ भने त्यो सत्तापक्षले नै ढाल्छ,’ उनले भने । प्रधानमन्त्रीले सरकारले काम गर्न नपाएको भन्ने अभिव्यक्ति दिने गरेकोतर्फ संकेत गर्दै शाहीले प्रतिपक्ष सरकारको विरोधी नभएको बताए । बरु प्रतिपक्षले सरकारलाई काम गर्न सहयोग गरिरहेको उनको दाबी थियो ।
प्रतिपक्षको निरन्तर दबाबका कारण सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको कर घटाउन बाध्य भएको शाहीले दाबी गरे । अब लास र विद्युत्मा लगाइएको करसमेत घटाउनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।
शाहीले सरकार पछिल्लो समय प्रश्न उठाउने र आवाज बुलन्द गर्नेहरूको मुख थुन्नेतर्फ उन्मुख भएको आरोपसमेत लगाए । आफू साइबर बुलिङको सिकार भएको र न्यायका लागि प्रहरीमा जाँदा समेत प्रहरीले बेवास्ता गरेको उनले बताए ।
‘अहिलेको प्रहरी सत्तापक्षको मात्रै हो कि सबै नेपालीको हो ?’ भन्दै उनले प्रश्न गरे ।
आफूविरुद्ध सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाउँदै शाहीले केही यौनजन्य भिडियोमा आफूलाई जोडेर रास्वपाका कार्यकर्ताले गलत प्रचार गरेको बताए । आफूले मदिरा सेवन गर्ने गरेको आरोपसमेत लगाइएको भन्दै उनले त्यसलाई प्रमाणित गर्न चुनौती दिए ।
‘यही संसदमा भएका स्वास्थ्यकर्मीबाट मेरो शरीर चेक गरियोस् । मेरो शरीरमा मदिराको केही अंश भेटियो भने म सांसद पदबाट राजीनामा दिन तयार छु,’ उनले भने ।
शाहीले सरकारको पछिल्लो गतिविधिले देशलाई गलत दिशातर्फ लैजाने खतरा रहेको समेत बताए । सरकारविरुद्ध प्रश्न गर्दा सत्तापक्षबाट आफूहरूलाई ‘केपी ओलीको कार्यकर्ता’ र ‘सरकारलाई काम गर्न नदिएको’ जस्ता आरोप लगाउने गरिएको उनको भनाइ थियो ।
‘हिजो पनि हामीले प्रश्न गरेका थियौँ, आज पनि गर्छौँ । हामीलाई जनताले प्रश्न गर्नकै लागि पठाएका हुन्,’ शाहीले भने ।
उनले प्रतिपक्षको काम सरकार गिराउने नभई सरकारलाई जवाफदेही बनाउने र जनताका सवाल उठाउने भएको बताए ।