६५ मेगावाटको दूधखोलालाई जुट्यो १० अर्ब लगानी

  • मिति : साउन २५, २०८३
136 Shares

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । प्रवर्द्धक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार यस आयोजनामा लिड बैंकको रूपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकको रूपमा रहेको सानिमा बैंकले तीन अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । दुई बैंकले गरी आयोजनामा कुल १० अर्ब एक करोड लगानी गर्ने भएका हुन् ।

मनाङमा निर्माण हुने यस आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रहेको छ । प्रतिमेगावाट लागत २० करोडभन्दा पनि कम रहेकोले यस योजनालाई आकर्षक मानिएको छ । आयोजनामा एनएमबि बैंक र सानिमा बैंकले १०.०१ अर्ब लगानी गर्ने छन् भने बाँकी रकम प्रवर्द्धक कम्पनीले लगानी गर्ने छ ।

आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै तत्काल आयोजना निर्माणको काम थाल्ने कम्पनीको तयारी छ । निर्माण थालेको तीन वर्षभित्रमा विद्युत् उत्पादन थालिसक्ने कम्पनीको लक्ष्य छ ।

माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र पाँच मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले हाल नियमित विद्युत् उत्पादन गरिरहेका छन् ।