कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने, यस्तो छ छलफलका विषय

  • मिति : साउन २५, २०८३
276 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो १ बजेबाट बैठक बस्न लागेको हो ।

आइतबारदेखि सुरु भएको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका पछिल्ला गतिविधि, प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।

आइतबारको बैठकमा सभापति गगन थापाले समसामयिक राजनीतिक विषय तथा प्रस्तावित एजेन्डाबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराएका थिए । त्यसपछि प्रस्तावित विषयमाथि छलफल सुरु भएको हो ।

बैठकको प्रमुख एजेन्डाका रूपमा कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई राखिएको छ । महाधिवेशन तयारीका क्रममा नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति गठन, विधान मस्यौदा समिति गठनलगायतका विषयमा छलफल भइरहेको छ ।

त्यस्तै, प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायतका उपसमिति गठन तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकको एजेन्डामा छन् ।

बैठकमा पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल हुँदैछ । प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् तथा संसद्बाहिर कांग्रेसको भूमिकाबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ ।

यसैगरी सरकारका १०० दिनपछिका गतिविधि, प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापन केन्द्रीय समितिका निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषय पनि बैठकका एजेन्डामा समेटिएका छन् ।