काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा उनीहरूका परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता–द मेडिसिटी अस्पतालको विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्।
यस सम्बन्धमा प्रभु बैंक र मेदान्ता–द मेडिसिटी अस्पतालबीच विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार बैंकका कर्मचारी, परिवारजन तथा डेबिट र क्रेडिट कार्डबाहकले अस्पतालको बाह्यरंग सेवा (ओपीडी) अन्तर्गत सबै परामर्श सेवा तथा प्रयोगशाला र रेडियोलोजी जाँचमा प्रचलित दरमा १५ प्रतिशत छुट पाउनेछन्।
त्यसैगरी, अन्तरंग सेवा (आईपीडी) अन्तर्गत कोठा भाडा तथा प्रयोगशाला र रेडियोलोजी जाँचमा समेत अस्पतालको प्रचलित दरमा १५ प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ।
सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका तर्फबाट प्रमुख–कर्पोरेट साझेदारी सत्य चतुर्वेदी तथा प्रभु बैंकका तर्फबाट कन्ट्री हेड सुनिल मिश्राले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।
यो सम्झौता १५ अगस्ट २०२६ देखि लागू भई १४ अगस्ट २०२८ सम्म कायम रहने बैंकले जनाएको छ।
प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा कार्यालय, २६२ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले गुणस्तरीय तथा ग्राहककेन्द्रित सेवा विस्तार गर्दै आएको जनाएको छ।