साउनमै नेपाल भित्रिए २३ अन्तर्राष्ट्रिय ब्राण्डका ६७५ विद्युतीय कार, बीवाइडी शीर्ष स्थानमा

  • मिति : भदौ १८, २०८३
157 Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा मात्रै विभिन्न २३ अन्तर्राष्ट्रिय ब्राण्डका ६७५ युनिट विद्युतीय कार (ईभी) नेपाल भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा आधा दर्जनभन्दा बढी नयाँ ब्राण्डसमेत नेपाली बजारमा प्रवेश गरेका छन्।

अटोमोबाइल व्यवसायीहरूले नाइमा नेपाल मोबिलिटी एक्स्पो र नाडा अटो शोको पूर्वसन्ध्यालाई लक्षित गर्दै विभिन्न नयाँ मोडल तथा ब्राण्डका विद्युतीय सवारीसाधन आयात गरेका हुन्। साउन महिनामा सहर केन्द्रित मिनी कारदेखि अत्याधुनिक प्रिमियम एसयूभीसम्मको आयात उल्लेख्य देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा आयात गरिएका कुल ईभीमध्ये केवल दुई ब्राण्डले मात्रै १०० युनिटभन्दा बढीको आयात संख्या पार गरेका छन्।

आधिकारिक बिक्रेता साइमेक्स इंकमार्फत भित्रिएको चिनियाँ ब्राण्ड बीवाइडी साउन महिनामा सबैभन्दा धेरै २१९ युनिट कार आयात गर्दै शीर्ष स्थानमा रहेको छ। बीवाइडीअन्तर्गत विशेषगरी एटो टु मोडलको हिस्सा सबैभन्दा बढी रहेको छ, जसको मात्रै २११ युनिट नेपाल भित्रिएको तथ्यांकले देखाउँछ। यसबाहेक डेन्जा, एटो वान र एटो थ्री मोडलसमेत आयात भएका छन्।

त्यसैगरी, सिप्रदी ट्रेडिङमार्फत आयात भएको टाटा ब्राण्डले १६४ युनिट ईभी नेपाल भित्र्याउँदै दोस्रो स्थान ओगटेको छ। टाटाको पन्च र टियागो ईभीको आयात उल्लेख्य रहेको छ।

शीर्ष दुई ब्राण्डबाहेक अन्य कम्पनीहरूले पनि आक्रामक रूपमा विद्युतीय सवारीसाधन नेपाल भित्र्याएका छन्। जगदम्बा मोटर्सले प्रोटोनका इमास मोडलसहित ६९ युनिट ईभी आयात गरेको छ भने एसपीजी अटोमोबाइल्सले जेको र ओमाडा ब्राण्डका गरी ९० युनिटभन्दा बढी सवारीसाधन नेपाल भित्र्याएको छ।

यसैगरी, पारामाउन्ट मोटर्सले एमजी र वुलिङ ब्राण्डका ५६ युनिट विद्युतीय सवारीसाधन आयात गरेको छ। एमएडब्लू वृद्धि, जीओ अटोमोबाइल्स, लक्ष्मी मोटरहब र भीजी इम्पेक्सलगायत कम्पनीहरूले पनि विभिन्न नयाँ मोडलका ईभी नेपाली बजारमा भित्र्याएका छन्।

नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको बढ्दो आकर्षणसँगै नयाँ अन्तर्राष्ट्रिय ब्राण्ड र मोडलहरूको प्रवेश तीव्र बनेको छ। अटो शोको माहोल र बजारमा बढ्दो प्रतिस्पर्धाका कारण आगामी महिनाहरूमा समेत ईभी आयात थप बढ्ने अपेक्षा गरिएको छ।