विराटनगरमा खाद्य व्यवसायमाथि कडा अनुगमन : औद्योगिक रंग, अखाद्य पदार्थ र पुराना पानीका जार नष्ट

  • मिति : भदौ १८, २०८३
208 Shares

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले विभिन्न खाद्य व्यवसायमा अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कैफियत भेटिएपछि आवश्यक कारबाही तथा सुधारका लागि निर्देशन दिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कार्यालयले विराटनगरका विभिन्न खाद्य व्यवसायमा अनुगमन निरीक्षण गरेको हो। अनुगमनका क्रममा उत्पादन स्थलको सरसफाइ, खाद्य वस्तुको भण्डारण, अखाद्य वस्तुको प्रयोग तथा प्रशोधित पिउने पानीका जारको अवस्थालगायत विषयमा कैफियत भेटिएको जनाइएको छ।

विराटनगर–२ स्थित कृष्णा क्याटरिङमा गरिएको अनुगमनका क्रममा उत्पादन स्थलको भुइँमा पानी जमेको, भण्डारण कक्षको उचित व्यवस्थापन नभएको तथा खाद्य वस्तु तयार गर्ने स्थानमा अखाद्य वस्तु ‘हाईड्रो’ र औद्योगिक रंग फेला परेको थियो। कार्यालयले ५०० ग्रामका तीन थान र १०० ग्रामको एक थान हाईड्रो नष्ट गरेको जनाएको छ। साथै कृत्रिम खाद्य रंग प्रयोग भएको एक केजी बुनिया तथा १०० ग्रामका १२ वटा औद्योगिक रंगसमेत नष्ट गरिएको छ।

यसैगरी आनन्द स्विट्स प्रालिमा उत्पादन स्थलको पानी बग्ने नालाको सरसफाइ व्यवस्थित नभएको, मिठाई सेलाउने काम भुइँमै गर्ने गरिएको तथा खाद्य सामग्री छोप्न मसीजन्य पत्रिकाको प्रयोग भएको पाइएको थियो। कार्यालयले सरसफाइका लागि जिम्मेवार व्यक्ति तोकी तालिका बनाएर काम गर्न तथा खाद्य वस्तु भुइँमा नराखी टेबल वा अग्लो स्थानमा राख्न निर्देशन दिएको छ।

विराटनगर–९ स्थित कृष्णा जलपान गृहमा खाद्य वस्तु तयार गर्ने र भाँडा सफा गर्ने स्थान एउटै रहेको तथा उत्पादनमा प्रयोग हुने मसला ढकनी नलगाई राखिएको पाइएको छ। कार्यालयले खाद्य वस्तु तयार गर्ने र भाँडा माझ्ने स्थान छुट्टाछुट्टै बनाउन निर्देशन दिएको छ।

त्यस्तै, जुगल चिया नास्ता एण्ड पण्डितजी स्विट कर्नरमा उत्पादन स्थलको सरसफाइमा कमी रहेको तथा उत्पादन स्थल खुला रहेको पाइएको छ। मिठाई बनाउने कार्य भुइँमा नगरी केही अग्लो स्थानमा गर्न तथा भत्किएको संरचना तत्काल मर्मत गर्न निर्देशन दिइएको छ।

कृष्ण स्विट हाउसमा पनि उत्पादन स्थलको सरसफाइमा कमी तथा भुइँमा पानी जमेको भेटिएको कार्यालयले जनाएको छ। व्यवसायलाई संरचना मर्मत गर्न, सरसफाइको व्यवस्थित तालिका तयार गर्न तथा देखिएका कैफियत सुधार गरी प्रमाणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

यसैबीच, भदौ १५ गते विराटनगर बजारका पसल तथा ढुवानीका क्रममा रहेका प्रशोधित जारको पिउने पानीमाथि समेत अनुगमन गरिएको थियो। अनुगमनका क्रममा पुराना र कुच्चिएका ५६ वटा जार नष्ट गरिएको जनाइएको छ। पानी ढुवानी गर्दा सफा जार मात्र प्रयोग गर्न तथा पुराना र अपारदर्शी जार प्रयोग नगर्न निर्देशन दिइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले विभिन्न मितिमा कुल छ वटा खाद्य व्यवसायको अनुगमन गरेको जनाएको छ। वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माद्वारा जारी विवरणमा सबै खाद्य व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार आफ्नो दायित्व पूरा गर्न आग्रह गरिएको छ।