नाडा अटो शो लक्षित गर्दै नामी भिगो ई–२ नेपालमा, सुरुवाती मूल्य ३५.९९ लाख

  • मिति : भदौ ४, २०८३
174 Shares

काठमाडौं । डोङफेङ नामीको नेपालस्थित आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नयाँ विद्युतीय एसयूभी नामी भिगो ई–२ नेपाली बजारमा बिक्री सुरु गरेको छ। कम्पनीले यसलाई कम्प्याक्ट कारभन्दा माथि र पारिवारिक प्रयोगका लागि उपयुक्त ‘फुल एसयूभी’का रूपमा प्रस्तुत गरेको छ।

एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवालका अनुसार सरकारले नयाँ बजेटमार्फत ड्युटी संरचनामा गरेको परिवर्तनको लाभ ग्राहकलाई दिने उद्देश्यले गाडीको विशेष मूल्य निर्धारण गरिएको हो।

नाडा अटो शो लक्षित गर्दै कम्पनीले भिगो ई–२ को सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ। अटो शोपछि यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ। यसअघिको बेस भेरियन्टको तुलनामा नयाँ संस्करण करिब ५ लाख रुपैयाँ सस्तो हो। कम्पनीका अनुसार मुनरुफ हटाइए पनि अन्य प्रमुख फिचरहरू यथावत राखिएका छन्।

भिगो ई–२ मा ४४.९४ र ५१.८७ किलोवाट आवरका दुई ब्याट्री विकल्प छन्, जसले डब्लूएलटीपी मापदण्डअनुसार क्रमशः ३०० र ३५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। गाडीले १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ।

गाडीमा १२.८ इन्च इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्च डिजिटल डिस्प्ले, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर, भ्वाइस कन्ट्रोल, एम्बियन्ट लाइट, १८ इन्च ह्वील तथा एडीएएस लेभल–२ लगायतका फिचर छन्। सुरक्षातर्फ ६ एयरब्याग, अटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल र ट्र्याक्सन कन्ट्रोल उपलब्ध छन्।

कम्पनीले भिगो ई–२ ले मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत चुनौतीपूर्ण भौगोलिक क्षेत्रमा समेत आफ्नो क्षमता प्रमाणित गरिसकेको जनाएको छ। नेपालमा डोङफेङ नामीका २ हजारभन्दा बढी ग्राहक रहेको कम्पनीको दाबी छ।