आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • मिति : भदौ ४, २०८३
361 Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा, कोशी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति भने देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

देशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेकोले रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन महाशाखाले अनुरोध गरेको छ ।

facebook sharing button
twitter sharing button