प्रहरीको पोसाक खरिदमा अनियमितता भएको छ : खगेन्द्र सुनार

  • मिति : भदौ ४, २०८३
378 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबी गर्दै प्रहरी मुख्यालय बिचौलियाहरूको कब्जामा रहेको आरोप लगाएका छन् । सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा सांसद सुनारले भ्रष्टाचारको विषयमा आफू प्रमाणसहित अडिग रहेको बताए ।

बैठकमा सांसद सुनारले १५ दिनअघि नै प्रहरीको पोसाक खरिदमा भएको बदमासीका बारेमा कागजात माग गरिएको भए पनि अहिलेसम्म उपलब्ध नगराइएकोमा आपत्ति जनाए । विवरण लुकाएर फेरि पनि करोडौँको टेन्डर आह्वान गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘हामीले १५ दिनभित्रमा त्यो प्रहरीको पोसाक खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आएकै छैन,’ उनले भने, ‘फेरि यही बिचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन्।’

सांसद सुनारले आफूले उठाएका प्रश्नहरूमा कुनै सम्झौता नगर्ने बताए । आफ्नो अभिव्यक्तिले कसैलाई चित्त नबुझेको भए वा मानमर्दन भएको लागेमा अदालत जान समेत उनले चुनौती दिए ।  ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उता पट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिन म तयार छु,’ उनले भने ।

समितिको गरिमाको चर्चा गर्दै सांसद सुनारले एउटा सार्वभौम समितिमा आएर सरकारको मानमर्दन गर्ने वा जुवारी खेल्ने काम स्वीकार्य नहुने बताए । उनले टोपी भुईँमा राखेर जुवारी खेल्ने थलो संसद्को समिति नभएको स्मरण गराउँदै अनियमितता विरुद्ध आफ्नो संघर्ष जारी रहने अडान दोहोर्‍याए ।

सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबिच यसअघिको सार्वजनिक लेखा समिति बैठकमा प्रहरी पोशा खरिदमा अनियमितताको विषयमा बाझाबाझ पनि भएको थियो ।