कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • मिति : साउन १०, २०८३
344 Shares

किन्शासा : पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक फोर्सेस’ (एडीएफ)ले पछिल्लो ७२ घण्टामा गराएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा ३२ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको सहयोगमा डीआरसीमा सञ्चालित ‘रेडियो ओकापी’का अनुसार आक्रमण माम्बासा क्षेत्रका गाउँमा भएका हुन् । थप पीडितको खोजी तथा पहिचानकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्थानीय नागरिक समाजका प्रतिनिधिले बताएका छन् ।

आक्रमणपछि प्रभावित गाउँ तथा आसपासका क्षेत्रमा विस्थापनको नयाँ लहर देखिएको छ । थप हिंसाको त्रासमा स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ पलायन भएका छन् । शनिबार अबेरसम्म स्थानीय अधिकारी तथा डीआरसीको सशस्त्र बलले पछिल्ला आक्रमणबारे आधिकारिक प्रतिक्रिया दिएका थिएनन् ।

स्थानीय नागरिक समाज संस्थाका अनुसार एडीएफले यस वर्ष मार्चयता माम्बासा क्षेत्रका करिब २० गाउँमा १०० भन्दाबढी मानिसको हत्या गरिसकेको छ ।

मध्यअफ्रिकामा इस्लामिक स्टेटसँग आबद्ध एडीएफ युगान्डाको विद्रोही समूह हो, जुन लामो समयदेखि पूर्वी डीआरसीमा सक्रिय रहँदै आएको छ । समूहको गतिविधि नियन्त्रण गर्न तथा त्यसलाई निस्तेज पार्न डीआरसी र युगान्डाका सेनाले सन् २०२१को नोभेम्बरदेखि संयुक्त सैन्य कारबाही सञ्चालन गर्दै आएका छन् ।