काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी क्रिकेटर मनीषा उपाध्यायलाई ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गरी सम्मान गरिने भएको छ।

‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’ले मनीषालाई उनको उत्कृष्ट प्रदर्शन तथा नेपाली महिला क्रिकेटमा पुर्याएको योगदानको कदरस्वरूप क्रिकेट सामग्री प्रदान गर्न लागेको हो। सो घोषणा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो।

नेपाली महिला क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा योगदान पुर्याउँदै आएकी मनीषाको मेहनत, समर्पण र निरन्तरताको सम्मानस्वरूप सामग्री प्रदान गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार राष्ट्रिय टोलीसम्म पुगेर आफ्नो स्थान बनाउन खेलाडीले गर्ने संघर्ष र मेहनतलाई सम्मान गर्नु सबैको दायित्व हो। मनीषाले नेपाली क्रिकेटका लागि मैदानमा देखाउँदै आएको लगनशीलता र समर्पण अन्य खेलाडीका लागि समेत प्रेरणाको विषय रहेको आयोजकको भनाइ छ।
‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’ले मनीषालाई सम्मान गर्न पाउनु आफ्ना लागि खुसी र गर्वको क्षण भएको जनाएको छ।