पुटिन भारत आउँदै, मोदीसँग द्विपक्षीय भेटवार्ता हुने

  • मिति : भदौ २३, २०८३
293 Shares

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत आउने भएका छन् । उनले आगामी शुक्रबार (११ सेप्टेम्बर) नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार पुटिनको भारत भ्रमण र मोदीसँगको भेटवार्ताबारे जानकारी दिएका हुन् । पेस्कोभका अनुसार दुई नेताबीच हुने भेटवार्तामा व्यापार र आर्थिक सहकार्य प्रमुख विषयका रूपमा रहनेछन् ।

उनले रूस र युक्रेनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि भारतले गरिरहेको प्रयासको रूसले स्वागत गर्ने पनि बताएका छन् । यसैबीच, रुसी कच्चा तेल खरिद गर्ने देशहरूमाथि अमेरिकाले १०० प्रतिशत कर लगाउने प्रस्तावप्रति पनि पेस्कोभले प्रतिक्रिया दिएका छन् । उनले यस्तो कदमलाई ‘अवैध र अस्वीकार्य’ भनेका छन् ।

भारतले आयोजना गर्ने १८औँ ब्रिक्स शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ सहभागी हुने वा नहुनेबारे भने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।