पूजा शर्मा र अशोक दर्जी मुख्य भूमिकामा, ‘सेतो कोट’को शुभमुहूर्त; माइली बुहारीको फिल्मी डेब्यू

  • मिति : मंसिर ५, २०८३
565 Shares

काठमाडौं । अभिनेत्री पूजा शर्मा र गायक तथा अभिनेता अशोक दर्जीलाई मुख्य भूमिकामा लिएर नयाँ नेपाली फिल्म ‘सेतो कोट’ निर्माण हुने भएको छ। शुक्रबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा फिल्मका कलाकार तथा निर्माण टोलीको उपस्थितिमा घोषणा गरिएको हो। फिल्मको छायांकन आगामी मंसिर ९ गतेदेखि सुरु हुने निर्माण पक्षले जनाएको छ।

शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा पूजा शर्मा र अशोक दर्जीसँगै नीर शाह, समी दाहाल, पवन खतिवडा, विष्णु सापकोटा, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा र रामेश्वर रिजाललगायतका कलाकारको अभिनय रहनेछ। टिकटकमा ‘माइली बुहारी’का रूपमा चर्चित समी दाहालले यही फिल्ममार्फत ठूलो पर्दामा डेब्यू गर्दैछिन्।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ हुन्। यसअघि अशोक दर्जीलाई मुख्य भूमिकामा लिएर फिल्म ‘मन बिनाको धन’ निर्माण गरेकी मिनुको यो दोस्रो निर्माण हो।

फिल्ममा फणीन्द्र तामाङ कार्यकारी निर्माताका रूपमा रहनेछन्। सौरभ लामाले छायांकन, बन्दे प्रसादले सम्पादन तथा स्टिभ शंकरले संगीतको जिम्मेवारी सम्हाल्नेछन्।

फिल्म घोषणा कार्यक्रममा निर्देशक शिवम् अधिकारीले नेपाली फिल्ममा कमै उठान हुने विषयलाई मनोरञ्जनात्मक र सिनेम्याटिक शैलीमा प्रस्तुत गर्न लागिएको बताए। उनका अनुसार फिल्ममा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको छ। फिल्मले दर्शकलाई मनोरञ्जनसँगै समाजलाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने विश्वाससमेत उनले व्यक्त गरे।