बाल्यकालदेखि नै चलचित्रप्रति विशेष रुचि राख्ने उदित थापाको सपना कुनै समय हिरो बन्ने थियो। सानैदेखि फिल्म हेर्न भनेपछि हुरुक्कै हुने उनी हिरो बन्ने हुटहुटी बोकेर हुर्किएका थिए। तर कक्षा ४ पछि भने उनको मनमा गायक बन्ने सपना पलायो। त्यसपछि उनी संगीतको यात्रामा अघि बढे।
संगीतप्रतिको लगावकै कारण उनले वर्षौंसम्म ललितकला क्याम्पसमा संगीत साधना र अध्ययनमा समय बिताए। संगीत क्षेत्रमा लागेको करिब २० वर्ष भइसक्दा पनि उनी आफूलाई अझै सिक्न बाँकी रहेको बताउँछन्। गायनसँगै नृत्य र अभिनयलाई पनि सँगसँगै अगाडि बढाइरहेका थापा अहिले कलाकारिताका विभिन्न विधामा आफूलाई निखार्ने प्रयासमा छन्।
मण्डला थिएटरको अध्ययनसमेत पूरा गरिसकेका उदित अब चलचित्र क्षेत्रमा अभिनय, नृत्य र एक्सनको प्रशिक्षण लिँदै अघि बढ्ने तयारीमा छन्। उनको उद्देश्य केवल सफल कलाकार बन्नु मात्र नभई एउटा असल कलाकारका रूपमा आफ्नो जीवनलाई सार्थक बनाउनु हो।
उनी भन्छन्, ‘संगीतमा लागेको २० वर्ष भयो, तर अझै पनि सिक्न र साधना गर्न मन छ। बाँचुन्जेल सिक्दै, प्रयास गर्दै जीवन बिताउन चाहन्छु। सफल हुन्छु कि हुँदिनँ थाहा छैन, तर एउटा असल कलाकार भएर मर्न मन छ।’
यसैबीच, उदित थापाको स्वर तथा अभिनय रहेको गीत पनि सार्वजनिक भएको छ। उक्त गीतमा प्रेमकवि पुरुषोत्तम ढुङ्गेलको शब्द, एचबीएन किस्मतको लय तथा संगीत संयोजन रहेको छ। गीतमा दीपिका बयाम्बु मगर र उदित थापाको स्वर सुन्न सकिन्छ।
नाम्गेल लामा (टाइगर) को नृत्य निर्देशन रहेको गीतमा उदित थापा र रिया लामाको अभिनय देख्न सकिन्छ। गीतको निर्देशन स्वयं उदित थापाले गरेका हुन् भने निर्माण शिवकुमारले गरेका छन्। गीतको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्। गीत सीताराम उदित थापा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
२० वर्षको सांगीतिक अनुभवसँगै अभिनय, नृत्य र एक्सनमा समेत आफूलाई स्थापित गर्ने लक्ष्य बोकेका उदितको यो यात्रा निरन्तर सिकाइ र साधनातर्फ अघि बढिरहेको छ।