रास्वपालाई प्रचण्डको चेतावनी: ‘हावाहुरी ल्याएर चुनाव जितिन्छ भन्ने नसोचे हुन्छ’

  • मिति : मंसिर ५, २०८३
412 Shares

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय तह र प्रदेशसभाको निर्वाचन जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चेतावनी दिएका छन्।

शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले संविधान र कानुनविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयासले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ लैजान सक्ने बताए। उनले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकाल र समयसीमाअनुसार छुट्टाछुट्टै हुनुपर्ने स्पष्ट पारे।

निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर निर्वाचनको तयारी र समयतालिकाबारे छलफल गरेको जानकारी दिँदै प्रचण्डले त्यसक्रममा स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने वा प्रदेशसभाको निर्वाचन पहिले गर्ने विषयमा फरक धारणा आएको बताए। तर, संविधान र कानुनले निर्धारण गरेको व्यवस्थाभन्दा बाहिर गएर निर्वाचन गर्न नहुने आफ्नो अडान रहेको उनले बताए।

प्रचण्डका अनुसार स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले सोही समयसीमालाई आधार बनाएर निर्वाचन गर्नुपर्छ।उनले संविधान र कानुन मिचेर निर्वाचन गराउने प्रयास भए राजनीतिक अस्थिरता बढ्ने र प्रतिगामी शक्तिले त्यसलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने चेतावनी दिए।

निर्वाचन आयोगले पनि स्थानीय तह र प्रदेशसभाको निर्वाचन दुई पटक नै गर्नु संविधान र कानुनसम्मत हुने धारणा राखेको प्रचण्डले बताए। रास्वपाका सभापतिले भने सर्वदलीय बैठक राखेर राजनीतिक छलफलपछि अन्तिम धारणा आयोगलाई जानकारी गराउने प्रस्ताव गरेको उनको भनाइ थियो।