काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको व्यक्तिगत पहिचान विवरण (केवाईसी) सहज, सुरक्षित र डिजिटल माध्यमबाट अद्यावधिक गर्ने उद्देश्यले ‘कस्टमर ३६०’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार उक्त पोर्टलमार्फत ग्राहकले आफ्नो केवाईसी विवरण अद्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न तथा कम्पनीमा दर्ता भएका दाबीको अवस्था हेर्न सक्नेछन्। डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकलाई बीमासम्बन्धी विवरणमा सहज पहुँच प्रदान गर्नुका साथै सेवा प्रवाहलाई थप सरल, छिटो र प्रभावकारी बनाउने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकलाई ‘कस्टमर ३६०’ मा लगइन गरी आफ्नो व्यक्तिगत केवाईसी विवरण जाँच गर्न र आवश्यक विवरण यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ।
कसरी गर्ने केवाईसी अद्यावधिक?
ग्राहकले सूर्यज्योति लाइफको आधिकारिक वेबसाइट suryajyotilife.com मा गएर ‘कस्टमर ३६०’ विकल्पमा क्लिक गरी केवाईसी अद्यावधिक प्रक्रिया सुरु गर्न सक्नेछन्। पोर्टलमा दर्ता गरिएको मोबाइल नम्बर वा इमेल ठेगानामार्फत लगइन गर्न सकिने व्यवस्था रहेको छ।
पहिलोपटक लगइन गर्ने ग्राहकले दर्ता गरिएको मोबाइल नम्बर वा इमेल ठेगाना प्रयोग गरी ‘फरगेट पासवर्ड’ विकल्पमार्फत पासवर्ड सेट गर्न सक्नेछन्। त्यसैगरी, ओटीपी प्रयोग गरेर पनि लगइन गर्न सकिने कम्पनीले जनाएको छ।
लगइन गरेपछि ‘केवाईसी डिटेल्स’ मा गई कम्पनीको प्रणालीमा रहेको आफ्नो व्यक्तिगत विवरण जाँच गर्न तथा आवश्यक विवरण अद्यावधिक गर्न सकिनेछ।
ग्राहकलाई डिजिटल सेवामा सहज पहुँच
कम्पनीका अनुसार ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक राख्दा बीमासम्बन्धी सेवा तथा ग्राहकसँग सम्बन्धित आवश्यक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
कस्टमर ३६० प्रयोग गर्ने क्रममा कुनै समस्या आएमा वा थप जानकारी आवश्यक भएमा ग्राहकले इमेल, ह्वाट्सएप, फेसबुक, ल्यान्डलाइन नम्बर वा नजिकको शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमार्फत कम्पनीसँग सम्पर्क गर्न सक्नेछन्।
कम्पनीले कस्टमर ३६० लाई ग्राहकका लागि एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास गरेको जनाएको छ। ग्राहकले बीमासम्बन्धी सेवा तथा आवश्यक जानकारी डिजिटल माध्यमबाट सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस प्लेटफर्ममा उपलब्ध सेवाहरूलाई आवश्यकताअनुसार थप विस्तार गर्दै लैजाने कम्पनीको योजना छ।
डिजिटल सेवाको विस्तारले ग्राहकलाई बीमासम्बन्धी जानकारी तथा सेवामा सहज पहुँच प्रदान गर्नुका साथै सेवा प्रवाहलाई थप छिटो, सरल र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।