१०९ सामुदायिक विद्यालयमा ६ अर्ब ५४ करोड लगानी गर्दै सरकार

  • मिति : अशोज २८, २०८३
395 Shares

काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो ।

शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।

मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको हो । निकासा भएको रकममार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक १२ कोठे तीनतले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने भएको छ ।

प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ । यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताए ।