नेपाल–रसिया आर्थिक सहकार्य नयाँ चरणमा लैजान महासङ्घको जोड

  • मिति : अशोज १७, २०८३
259 Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल र रसियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न द्विपक्षीय सहकार्यलाई नयाँ चरणमा लैजानुपर्नेमा जोड दिएको छ ।

नेपालका लागि रसियाली राजदूत अलेक्सेइ भी. सुरोभेस्तोभसँग महासङ्घ सचिवालय टेकुमा भएको भेटमा महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले रसियाली बजारमा नेपाली वस्तुको निर्यात विस्तार तथा नेपालमा जलविद्युत्, पर्यटन, पूर्वाधार र प्रविधि क्षेत्रमा रसियाली लगानी भित्र्याउने पर्याप्त सम्भावना रहेको बताए ।

अध्यक्ष श्रेष्ठले नेपाल र रसियाबीचको व्यापारको वर्तमान आकार अपेक्षाकृत सानो रहेको उल्लेख गर्दै निजी क्षेत्रबीच प्रत्यक्ष सम्पर्क, व्यवसाय–व्यवसाय (बीटुबी) बैठक तथा व्यापारिक अवसरको पहिचानलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले महासङ्घ र रसियन फेडेरेसनको च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच सन् २०११ मा भएको सहकार्यलाई पुनः सक्रिय गर्दै निकट भविष्यमा बिजनेस फोरम वा बिजनेस काउन्सिलको बैठक आयोजना गर्नुपर्नेमा जोड दिए ।

नेपाल–रसिया कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको उल्लेख गर्दै नेपालका लागि रसियाली राजदूत अलेक्सेइ भी. सुरोभेस्तोभले दुई देशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक तथा व्यावसायिक सहकार्यमा थप प्रभावकारी रूपमा रूपान्तरण गर्न रसिया सकारात्मक रहेको बताए ।

नेपालले आर्थिक विकास र समृद्धिका लागि अघि सारेका प्राथमिकतामा रसियाली पक्षबाट सहयोग तथा सहकार्य थप विस्तार गर्न सकिने उनले बताए । दुई देशका निजी क्षेत्रबीच सम्पर्क तथा व्यावसायिक संवाद बढाउन पनि राजदूत सुरोभेस्तोभले सकारात्मक धारणा व्यक्त गरे ।

भेटमा पर्यटनलाई आर्थिक सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको थियो । साथै, भौगोलिक दूरी, ढुवानी लागत तथा भुक्तानी प्रणालीमा देखिने व्यावहारिक जटिलता समाधानका लागि सरकारी तथा निजी क्षेत्रबीच निरन्तर संवाद आवश्यक रहेकोमा जोड दिइएको थियो ।

भेटमा रसियाली दूतावासका उच्च अधिकारी तथा महासङ्घका महानिर्देशकलगायतको सहभागिता थियो ।