कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापनाकांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना

  • मिति : अशोज १७, २०८३
293 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका निम्ति स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार, महाधिवेशनस्थल रहेको खुलामञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका निम्ति हेल्थ डेस्क बनाइएको छ । पाँच कक्ष रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने उनले जानकारी दिए ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका डा. केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन गरिने बताए । डेस्कमा आठ चिकित्सक, पारामेडिक्स ( आपत्कालीन स्वास्थ्य सेवाकर्मी) तथा नर्सहरू रहनेछन् । मधुमेह, उच्च रक्तचापको जाँचसहित सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत निःशुल्क सेवा प्रदान गरिने उनले बताए ।

प्रतिनिधिहरूलाई तत्काल आकस्मिक उपचारका निम्ति अस्पताल लैजानुपर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धारामा रहेको बीपी स्मृति अस्पतालमा व्यवस्था मिलाइएको डा. केसीले उल्लेख गरे । त्यसनिम्ति महाधिवेशनस्थलमा दुई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

रातिको समयमा स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा ‘अन कल ड्युटी’को व्यवस्था समेत गरिएको छ । होटेलमा रहेको अवस्थामा प्रतिनिधिलाई कुनै समस्या परेमा त्यहीँ पुगेर स्वास्थ्य जाँच गर्ने प्रबन्ध गरिएको डा. केसीले जानकारी दिए ।