कांग्रेस देउवा समूहको वडा अधिवेशन आजदेखि, ५६ जिल्लामा खटाइयो संयोजक

  • मिति : अशोज १५, २०८३
446 Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि समानान्तर रूपमा वडा अधिवेशन सुरु गरेको छ ।

कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि १५ औं महाधिवेशनको तयारी गरिरहेका बेला इतर समूह देउवा पक्षले पनि छुट्टै अधिवेशन प्रक्रिया थालेको हो ।

वडा अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न देउवा पक्षले देशका ५६ जिल्लामा निर्वाचन संयोजक खटाएको छ ।

देउवा समूहले १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियालाई अस्वीकार गर्दै आएको छ । सोही कारण उसले संस्थापन पक्षको प्रक्रियामा सहभागी नभई समानान्तर तालिका सार्वजनिक गरेको हो ।

देउवा पक्षले तय गरेको कार्यतालिका अनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गरिनेछ ।

त्यसैगरी, आगामी मंसिर २१ देखि २३ गतेसम्म १५ औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय देउवा समूहले गरेको छ ।

दुवै पक्षले आ–आफ्नो महाधिवेशन तालिका अनुसार गतिविधि अघि बढाएपछि कांग्रेसभित्र समानान्तर संरचना र प्रतिस्पर्धाको स्थिति सिर्जना भएको छ ।