नेपालगञ्ज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, दक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न भएको छ ।
नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यशालामा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको अध्यक्षतामा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारीसहित ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले बदलिँदो प्रविधि र व्यावसायिक वातावरणअनुसार कर्मचारीलाई सक्षम बनाउन कम्पनीले डिजिटल प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिमलाई प्राथमिकतामा राख्ने बताइन् । कर्मचारीको क्षमता विकासमा कम्पनीले आवश्यक लगानी गर्दै जाने उल्लेख गर्दै उनले दक्ष जनशक्तिले कम्पनीको व्यवसाय विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने बताइन् ।
कार्यक्रममा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ का लागि छनोट भएका शिवेश ठाकुर (इटहरी), गीता कुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा (काठमाडौं), अनिल श्रेष्ठ (विरौटा), सुवासमणि पोखरेल (नेपालगञ्ज), प्रमिला मल्ल (नेपालगञ्ज) र विष्णुजंग शाही (जाजरकोट) लाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागीलाई स्वागत गर्दै ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले संस्थाका नीति तथा नियमको पालना, कार्यप्रतिको जवाफदेहिता र समस्या समाधानमा सामूहिक जिम्मेवारीको भावनाले ग्राहकको विश्वास अझ बलियो बनाउने बताए ।
कार्यशालाका क्रममा विभिन्न विषयमा प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो । नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमाको माध्यमबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम र त्यसप्रति कर्मचारी सचेत हुनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने प्रशिक्षक संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा पार्ने प्रभावबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कर्मचारीको सिर्जनशीलता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन बढाउने उद्देश्यले विभिन्न अतिरिक्त गतिविधि पनि सञ्चालन गरिएको थियो । सातै प्रदेशबाट सहभागी कर्मचारीले कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए भने विभागीय प्रमुखहरूसँग प्यानल डिस्कसन तथा कर्मचारीबीच परीक्षा पनि सञ्चालन गरिएको थियो ।
त्यस्तै अन्तरकर्मचारी फुटसल, टेबल टेनिस र टग अफ वारलगायत खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताका विजेता टोली तथा खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको अन्तिम दिन सहभागी कर्मचारीलाई कर्णाली चिसापानी भ्रमणसमेत गराइएको थियो । चारदिने कार्यशालाले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृति विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।