अविरल वर्षापछि नागढुंगामा सवारीसाधन ‘होल्ड’, उपत्यकाबाट बाहिरिने गाडी रोकिए

  • मिति : अशोज ९, २०८३
429 Shares

काठमाडौं । अविरल वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा ‘होल्ड’ गरिएको छ । बिहीबार (असोज ८) बेलुका ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक गाडी, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएको हो ।

वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका रूपमा सवारीसाधन रोकिएको जनाइएको छ । नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने सवारीसाधनलाई नागढुंगामै रोकेर राखिएको छ ।

लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारीसाधन समेत होल्डमा परेपछि यात्रु तथा चालकहरू प्रभावित भएका छन् ।

वर्षाको अवधिमा अत्यावश्यक नभई यात्रा नगर्न आग्रह गरिएको छ । लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र प्रस्थान गर्न प्रशासनले भनेको छ । वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले यात्रुलाई धैर्य गर्न समेत अनुरोध गरिएको छ ।