काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डललाई भ्रमणलाई नेपालको हित र दुई देशबीचको सम्बन्ध विस्तारमा केन्द्रित गर्न सुझाव दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री शाहले चीनबाट नेपालले लिन सक्ने प्राविधिक, आर्थिक र व्यावसायिक लाभका विषयमा विशेष ध्यान दिन सांसदहरूलाई आग्रह गरेका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाको उच्चस्तरीय टोली आगामी कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाँदैछ। महामन्त्री विपिन आचार्यको नेतृत्वमा हुन लागेको भ्रमणअघि प्रधानमन्त्रीले टोलीलाई बोलाएर छलफल गरेका हुन्।
भेटमा भ्रमणको तयारी र दुई देशबीचको सम्बन्धका विषयमा जानकारी गराइएको र प्रधानमन्त्रीबाट आवश्यक सुझाव प्राप्त भएको रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बताए।
उनका अनुसार प्रधानमन्त्रीले भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्न निर्देशन दिएका छन्। चीनसँग प्रविधि, व्यापार, अर्थतन्त्र र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने सम्भावना रहेकाले ती विषयमा अध्ययन गर्न उनले जोड दिएका थिए।
त्यस्तै, नेपालको कृषि क्षेत्रलाई आधुनिक बनाउने विषयमा चीनबाट सिक्न सकिने अनुभव र प्रविधिबारे पनि चासो राख्न प्रधानमन्त्रीले सुझाव दिएको बुर्लाकोटीले जानकारी दिए।
‘भ्रमण केवल घुमघाममा सीमित नहोस्, दुई देशको साझा हित र विशेषगरी नेपालको हितमा उपयोगी हुने गरी उपलब्धिमूलक बनोस् भन्ने प्रधानमन्त्रीको सुझाव थियो,’ बुर्लाकोटीले भने।
उनका अनुसार भ्रमण करिब १० दिनको हुनेछ। महामन्त्री आचार्यको नेतृत्वमा जाने टोलीमा संसदीय दलका उपनेता गणेश पराजुली, सहमहामन्त्री हरि ढकाल र प्रमुख सचेतक बुर्लाकोटीसहित सांसदहरू सहभागी हुनेछन्।
भ्रमण टोलीमा लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन्।