नवलपरासीमा कुटपिटबाट घाइते भएका युवकको उपचार क्रममा मृत्यु

  • मिति : अशोज ६, २०८३
446 Shares

बुटवल । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५, गेर्मीमा कुटपिटबाट घाइते भएका ३० वर्षीय सञ्जय गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार भदौ २९ गते साँझ मदिरा सेवन गरी सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका सञ्जय र सुनिलबिच सामान्य विवाद भएको थियो । विवादका क्रममा सुनिलले सञ्जयमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ ।

कुटपिटबाट सञ्जयको दाहिने कानमा भित्री चोट लाग्नुका साथै कानबाट रगत बगेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको थियो ।

मेडिकल कलेजमा उपचारकै क्रममा सञ्जयको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी मदन थापाले बताए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुनिल प्रसाद गुप्तालाई नियन्त्रणमा लिएको छ । उनलाई आज जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।