काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई अस्पतालको सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरिएको हो ।
नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । नवनियुक्त सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र अस्पतालका अध्यक्ष प्रा.डा. योगेन्द्र प्रसाद सिंह समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।