धनुषाबाट बालकको ११ दिनपछि सकुशल उद्वार, महिला पक्राउ

  • मिति : भदौ ३०, २०८३
412 Shares

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिने बालक ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कमलेश महतोका छोरा सिधान्त महतो भदौ १८ गते घरको आँगनमा खेलिरहेका बेला बेपत्ता भएका थिए। बालकको खोजीका लागि ६० जना प्रहरी, तालिमप्राप्त कुकुर तथा प्राविधिक अनुसन्धान टोली परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले बालकलाई विभिन्न स्थानमा लुकाउँदै राखेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीको खोजी र घेराबन्दीपछि पासवानले भदौ २९ गते दिउँसो बालकलाई आफ्नो घरबाट करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन्। प्रहरीले बालकलाई तत्काल उद्धार गरी स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बालकलाई छाडेर भागेकी पासवानलाई पनि सोही दिन भारततर्फ जाँदै गरेको अवस्थामा महिनाथपुरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।