सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

  • मिति : भदौ २६, २०८३
276 Shares

रौतहट । बाराको कलैयामा सुमो गाडीको ठक्करबाट एक अज्ञात पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार राति करिब सवा ९ बजे कलैया–वीरगञ्ज सडकखण्डको गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना. १ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको थियो । त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा राति १०:३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव हाल एलएस न्युरो अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न सुमो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । प्रहरीले मृतकको हुलिया सार्वजनिक गर्दै उनलाई चिन्नुहुने व्यक्ति वा आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय बारा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रहरीका अनुसार मृतकको उचाइ करिब ५ फिट ६ इन्च, शरीर पातलो रहेको छ । उनको दायाँ हातमा बाला रहेको तथा कालो भेस्ट र निलो रङको पाइन्ट लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकबारे कुनै जानकारी भए जिल्ला प्रहरी कार्यालय बाराका ९८५५०४८१०१, ९८५५०४५१०१ वा ९८५५०४५७६६ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।