मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

  • मिति : भदौ २३, २०८३
412 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार अयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोह भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

२३ भदौमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने, अत्यधिक बल प्रयोग गर्ने तथा २४ भदौमा विध्वंस मच्चाउने सबै पक्षमाथि कारबाहीका लागि सिफारिस गरिसकेको उल्लेख गरेका छन्। उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गरी त्यसमा गरिएका सिफारिसलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजानुपर्छ। घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ।;

कसैलाई पनि सत्ता र शक्तिको आधारमा उन्मुक्ति दिन नमिल्ने उनको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा उन्मुक्ति दिन मिल्दैन । राज्यशक्तिको दुरुपयोग गर्ने होस् वा आन्दोलनको नाममा कानुन हातमा लिएर देशलाई विध्वंसतर्फ धकेल्ने–सबै कारबाहीको दायरामा आउनुपर्छ । चाहे ती सत्ता शक्तिको नेतृत्वमै किन नहुन् । यो नेपाली कांग्रेसको स्पष्ट धारणा हो ।’

राज्यशक्तिको दुरुपयोग गर्ने तथा आन्दोलनको नाममा कानुन हातमा लिएर देशलाई विध्वंसतर्फ धकेल्ने दुवै पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन गौरीबहादुर कार्की आयोगको भन्दा विश्वसनीय रहेको आङ्देम्बेको भनाइ छ ।