काठमाडौँ : भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङभित्र ४८४ फसिरहेको व्यवसायीले जनाएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीहरूका अनुसार सरकारी, निजी तथा विदेशी लगानीमा बनेका र बनिरहेका ११ आयोजनाको सुरुङ तथा विद्युत् गृहभित्र ४८४ जना फसिरहेका छन्।
प्राप्त विवरणअनुसार, सबैभन्दा बढी माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाभित्र तीन सय जना अड्किएका छन्। कोरियाली लगानीमा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको यो जलविद्युत् आयोजनामा कार्यरत ५५७ जना अझै सम्पर्कविहीन छन्।
माथिल्लो त्रिशूली-३ ‘बी’ मा १२२, माथिल्लो त्रिशूली-३ ‘ए’ मा ४२, रसुवागढीमा १२ र चिलिमेमा आठ जना फसिरहेका छन्। इप्पानका अनुसार ११ आयोजनाबाट सम्पर्कविहीन व्यक्तिहरूको संख्या ९८३ छ। रसुवाका ६ जलविद्युत् आयोजनाबाट बाढीपछि ७१० र नुवाकोटका पाँच आयोजनाबाट २७३ सम्पर्कविहीन छन्।