नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो, तीन महिनामै कमायो १ अर्ब ८२ करोड

  • मिति : कार्तिक २९, २०८३
446 Shares

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले तीन महिनाको अवधिमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३५ प्रतिशत बढी हो।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्ष नाफा ४९ करोड ४९ लाख रुपैयाँले बढेको छ।

यद्यपि, नाफामा उल्लेख्य सुधार देखिए पनि कम्पनीको सञ्चालन आय भने स्थिरजस्तै रहेको छ। समीक्षा अवधिमा कम्पनीले ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ सञ्चालन आय गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको कुल आय ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ रहेको थियो।

सञ्चालन मुनाफामा भने गिरावट

खुद नाफा बढे पनि कम्पनीको मुख्य व्यावसायिक गतिविधिबाट प्राप्त सञ्चालन मुनाफामा भने गिरावट आएको छ। ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको मुनाफा (ईबीआईटीडीए) गत वर्षको ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँबाट घटेर ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा झरेको छ। यो ६.१३ प्रतिशतको गिरावट हो।

यता, करअघिको मुनाफा भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको यस्तो मुनाफा चालु आर्थिक वर्षमा २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ४५ पैसा रहेको छ।

बाढीपहिरोले सेवा बिक्री प्रभावित

नेपाल टेलिकमका अनुसार प्राकृतिक विपद्का कारण केही क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवा बिक्री र आम्दानी प्रभावित भएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित ग्राहकलाई कम्पनीले १७ दिनसम्म निःशुल्क भ्वाइस तथा डेटा सेवा उपलब्ध गराएको थियो। उक्त विपद्का कारण दूरसञ्चार सेवासँगै स्थानीय आर्थिक तथा व्यावसायिक गतिविधिमा समेत असर परेको कम्पनीले जनाएको छ।

त्यस्तै, असोज २५ गते बूढीगण्डकी क्षेत्रमा आएको बाढीले पनि सेवा सञ्चालनमा अवरोध सिर्जना गरेको थियो।

अर्कोतर्फ, सस्तो मूल्यका ठूला डेटा प्याकेजको प्रयोग बढ्दै जाँदा दूरसञ्चार सेवाको आम्दानी संरचनामा परिवर्तन भइरहेको कम्पनीको भनाइ छ। समीक्षा अवधिमा जीएसएम सेवातर्फ १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच सेवातर्फ ४ करोड ४० लाख रुपैयाँ सञ्चालन राजस्व थपिएको छ।

खर्च घट्दा नाफामा सुधार

कम्पनीले कर्मचारीको तलब वृद्धि हुँदा कर्मचारीसम्बन्धी खर्च बढे पनि ह्रासकट्टी खर्चमा आएको कमी तथा मूल्यह्रास क्षति फिर्ता समायोजनका कारण समग्र खर्च घटेको जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको छ। सञ्चालन आयमा उल्लेख्य वृद्धि नभए पनि खर्च नियन्त्रणका कारण खुद नाफा बढाउन सहयोग पुगेको देखिन्छ।

नेपाल टेलिकमले आम्दानीको प्रतिफल कम हुने भए पनि विकट तथा दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तार र विद्यमान सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।