काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा यस वर्षको नाडा अटो शो भव्य रूपमा आयोजना हुने भएको छ। ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नारासहित १८औँ नाडा अटो शो २०२६ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
नाडाका अनुसार पाँच दशकअघि अटोमोबाइल व्यवसायीहरूको साझा हकहितका लागि स्थापना भएको संस्थाले अहिले अटोमोबाइल क्षेत्रको नीति पैरवी, उद्योग प्रतिनिधित्व, सीप विकास, प्रविधि प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका निर्वाह गर्दै आएको छ।
तोलाराम दुगडको अध्यक्षतामा २०३२ सालमा अटोमोबाइल एसोसिएसन अफ नेपालको स्थापना भएको थियो। संस्थाको विकासक्रमसँगै २०६१/६२ सालमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन र २०७२ सालमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नाम कायम भएको हो।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले संस्थाको पाँच दशक लामो यात्रालाई नेपाली अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार नाडा अब केवल सवारीसाधन बिक्री गर्ने व्यवसायीहरूको संगठन नभई अटोमोबाइल उद्योग, नीति, प्रविधि र सीप विकासलाई जोड्ने संस्थागत प्लेटफर्मका रूपमा अघि बढिरहेको छ।
नाडाले नेपाललाई सवारीसाधन आयातमा मात्र सीमित नराखी ‘मोबिलिटी इकोसिस्टम’ निर्माणतर्फ अघि बढाउनुपर्नेमा जोड दिँदै आएको छ। विद्युतीय तथा हरित मोबिलिटी, डिजिटल प्रविधि, सीप विकास, उद्योग प्रतिनिधित्व र अन्तर्राष्ट्रिय सहकार्यलाई संस्थाले प्राथमिकतामा राखेको जनाएको छ।
यस वर्षको नाडा अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब ३ लाख वर्गफिट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा प्यासेन्जर कारका २३ ब्रान्ड, लाइट कमर्सियल भेहिकलका १७ ब्रान्ड तथा दुईपाङ्ग्रे सवारीका १३ ब्रान्ड सहभागी हुनेछन्।
त्यस्तै, अटोमोबाइल पार्टपुर्जा तथा अन्य उत्पादनका ७० स्टल र वित्तीय तथा बीमा क्षेत्रका १० संस्थाको सहभागिता रहनेछ। प्रदर्शनीमा विद्युतीय सवारीसाधनसँगै रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल प्रविधि तथा स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।
नाडाले २०५५ सालमा पहिलोपटक अटो शो आयोजना गरेको थियो। पहिलो प्रदर्शनीमा २६ वटा स्टल रहेका थिए। दर्शक तथा ग्राहकको आकर्षण बढ्दै गएपछि २०६७ सालदेखि अटो शोलाई वार्षिक रूपमा आयोजना गर्न थालिएको हो।
अहिले नाडा अटो शो नयाँ सवारीसाधन सार्वजनिक गर्ने, ब्रान्ड प्रवर्द्धन गर्ने, ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, अटो लोन तथा बीमा सेवाको जानकारी दिने र नयाँ प्रविधि प्रदर्शन गर्ने प्रमुख व्यावसायिक मञ्चका रूपमा स्थापित भएको छ।
छ दिनसम्म चल्ने यस वर्षको प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजकको अनुमान छ। आगन्तुकको सहजताका लागि विभिन्न स्थानमा पार्किङ तथा बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ।
प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर, आपत्कालीन स्वास्थ्य टोली तथा ट्राफिक सूचना डेस्कको व्यवस्था गरिनेछ। स्वर्ण जयन्ती वर्षमा आयोजना हुन लागेको अटो शोले नाडाको पाँच दशकको यात्रासँगै नेपाली अटोमोबाइल उद्योगको आगामी दिशासमेत प्रस्तुत गर्ने आयोजकको विश्वास छ।