काठमाडौँ। टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोलाई लक्षित गर्दै सिएरा ईभी नेपाल भित्र्याएको हो।
आकर्षक डिजाइन, लामो रेन्ज, दमदार प्रदर्शन र आधुनिक प्रविधिका कारण सिएरा ईभी नाडा अटो शोका प्रमुख आकर्षणमध्ये एक बन्ने अपेक्षा गरिएको छ। नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक हुनुअघि नै सिएरा ईभीले नाडा अटो शोमा चर्चा बटुल्ने तयारी गरेको छ।
भारतमा गत जुन ३० मा सार्वजनिक गरिएको सिएरा ईभी टाटाको नयाँ पुस्ताको विद्युतीय एसयूभी हो। भारतीय बजारमा सोही दिनदेखि बुकिङ सुरु गरिएको थियो भने जुलाई १५ देखि ग्राहकलाई डेलिभरी दिन थालिएको थियो। भारतमा यसको सुरुआती मूल्य १८ लाख ७९ हजार भारतीय रुपैयाँ तोकिएको छ। नेपालमा भने मूल्य र बिक्री सुरु हुने मिति सिप्रदीले औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी छ।
सिएरा ईभी भारतीय बजारमा प्योर, प्योर एस, एडभेन्चर, एम्पावर र एम्पावर ए लगायत सात भेरियन्टमा उपलब्ध छ। यसमा ६३ किलोवाट–आवर र ७५ किलोवाट–आवर क्षमताका दुई ब्याट्री विकल्प छन्। कम्पनीका अनुसार ७५ किलोवाट–आवर ब्याट्री भएको संस्करणले एकपटक पूर्ण चार्जमा ६६५ किलोमिटरसम्म रेन्ज दिन्छ। फास्ट चार्जिङमार्फत १५ मिनेटमै २६३ किलोमिटरसम्म चलाउन सकिने दाबी गरिएको छ। टाटाले ब्याट्रीमा लाइफटाइम वारेन्टीको सुविधा पनि दिएको जनाएको छ।
प्रिमियम एसयूभीको पहिचान दिने गरी सिएरा ईभीको बाहिरी डिजाइन तयार गरिएको छ। अगाडि र पछाडि कनेक्टिङ एलईडी बार, फराकिलो बडी र १९ इन्चका एलोय ह्विलले गाडीलाई आकर्षक लुक दिएका छन्। पुरानो सिएराको बक्सी डिजाइनलाई आधुनिक विद्युतीय स्वरूपसँग जोड्दै नयाँ पुस्ताका ग्राहकलाई लक्षित गरिएको देखिन्छ।
भित्री भागमा लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड कार फिचर, हाइपर हेड्स-अप डिस्प्ले र वायरलेस मोबाइल चार्जरलगायत सुविधा छन्। मनोरञ्जनका लागि १२ स्पिकरको जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस प्रविधि उपलब्ध छ। सुरक्षातर्फ ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड र लेभल–२ एडीएएसलगायत सुविधा दिइएको छ। गाडीमा बुस्ट र रिल्याक्ससहित कुल ६ ड्राइभिङ मोड छन्।
प्रदर्शनतर्फ सिएरा ईभीको फोर ह्विल ड्राइभ संस्करणमा डुअल मोटर दिइएको छ, जसले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यो संस्करणले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमा हासिल गर्न सक्छ। फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सनले विभिन्न सडकमा आरामदायी ड्राइभिङ अनुभव दिने अपेक्षा गरिएको छ। गाडीमा ६२२ लिटरको पछाडिको बुट र ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेज पनि छ।
भारतीय बजारमा सिएरा ईभीले महिन्द्रा एक्सईभी ९ई, महिन्द्रा बीई ६, एमजी जेडएस ईभी, एमजी विन्डसर ईभी, हुन्डाई क्रेटा इलेक्ट्रिक र भिनफास्ट भीएफ ७ जस्ता विद्युतीय एसयूभीसँग प्रतिस्पर्धा गरिरहेको छ। अब नेपालमा यसको आगमनसँगै प्रिमियम विद्युतीय एसयूभी बजारमा प्रतिस्पर्धा थप तीव्र हुने देखिएको छ। सिप्रदीले नाडा अटो शोमा सिएरा ईभीलाई नेपाली ग्राहकसामु प्रत्यक्ष प्रस्तुत गर्ने तयारी गरेसँगै यसको मूल्य, उपलब्ध भेरियन्ट र बिक्री सुरु हुने समयप्रति चासो बढेको छ।