हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

  • मिति : भदौ ४, २०८३
327 Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच नेपालको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका हुन्। सहकार्यअन्तर्गत सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा हरित मूल्य शृङ्खलामा संलग्न अन्य सरोकारवालालाई वित्तीय पहुँच विस्तारसँगै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइनेछ।

साझेदारीले कुमारी बैंकको वित्तीय विशेषज्ञता, बैंकिङ सेवा र व्यापक पहुँचलाई हेल्भेटास नेपालको उद्यम विकास, समावेशी आर्थिक विकास तथा मूल्य शृङ्खला सुदृढीकरणसम्बन्धी अनुभवसँग जोड्ने लक्ष्य राखेको छ। दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच र मूल्य शृङ्खला वित्तीयकरणलाई प्राथमिकता दिने जनाएका छन्।

कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यम विकासका लागि वित्तीय स्रोतसँगै व्यवसायीको क्षमता विकासमा समेत बैंकले सहयोग गर्ने बताए। उनका अनुसार सहकार्यले हरित तथा जलवायु–उत्थानशील नेपाल निर्माणमा योगदान पुर्‍याउनुका साथै व्यवसायीको वित्तीय पहुँचलाई थप दिगो बनाउन सहयोग गर्नेछ।

यस सहकार्यबाट सम्भावनायुक्त हरित व्यवसायलाई रोजगारी सिर्जना, नवप्रवर्तन तथा स्थानीय आर्थिक विकासका दीर्घकालीन आधारका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृङ्खलामा संलग्न अन्य सरोकारवालाबीच प्रभावकारी सम्बन्ध स्थापित हुने विश्वास गरिएको छ।

कुमारी बैंकले वित्तीय पहुँच विस्तारसँगै उद्यमीहरूले प्राप्त स्रोतको प्रभावकारी परिचालन र व्यवस्थापन गर्न सक्ने क्षमता विकासमा समेत जोड दिने जनाएको छ। यसबाट समावेशी, दिगो तथा उत्थानशील उद्यम विकासलाई प्रोत्साहन गर्दै नेपालको हरित अर्थतन्त्र विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

कुमारी बैंकको हाल २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १,२३३ भन्दा बढी पीओएस टर्मिनल रहेको बैंकले जनाएको छ। यही सेवा सञ्जालमार्फत हरित उद्यमसम्बन्धी पहललाई लक्षित समुदायसम्म विस्तार गर्ने लक्ष्य बैंकको छ।

कुमारी बैंक र हेल्भेटास नेपालको सहकार्यले आर्थिक रूपमा सक्षम हरित उद्यम, सुदृढ मूल्य शृङ्खला, रोजगारी सिर्जना तथा जलवायु–उत्थानशील आर्थिक प्रणाली निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।